लेखनाथ महोत्सवको १५ औं संस्करण पुसको पहिलो सातादेखि शुरु हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १५ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १५ औं संस्करण आगामी पुसको ५ गतेदेखि १६ गतेसम्म हुने लेखनाथमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सवमा करिब ३ सय ५० स्टल रहने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भइसकेको संघले बताएको छ ।
संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ । त्यस्तै ख्याती प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा वाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहनेछन् ।
महोत्सवको अवसरमा कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा देशव्यापी कविता प्रतियोगिता तथा लुकेको प्रतिभाको खोजी गर्ने उद्धेश्यले हरेक महोत्सवमा आयोजना हुँदै आएको गायन प्रतियोगिता ‘गण्डकी तारा’लाई यस वर्षपनि निरन्तरता दिइने भएको छ । यसैगरी रत्यौली प्रतियोगिता पनि आयोजना गरिने जनाइएको छ ।
समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा र्पुयाउने उद्धेस्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष भण्डारीले बताउनुभयो । लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सव बनाउने आफूहरुको लक्ष्य रहेको उहाको भनाई थियो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु हने महोत्सव अबधिभर तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।
महोत्सवमा करिब १५ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ । करिब ९० लाख खर्च हुने अनुमान गरिएको महोत्सवबाट १ करोड २५ लाख आम्दानी गरी ३५ लाख बचत गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट बचत हुने रकमले कृषि उपज खरिद विक्री केन्द्र निर्माण गर्ने, प्रदशनी स्थलको स्तरोन्नती र अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने जनाइएको छ ।