अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 01:18

भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ८:४८ मा प्रकाशित

भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्नुहुने भएको छ ।

आउँदो जनवरी २६ तारिखका दिन हुने ७०औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि रामाफोसा हुने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत् जानकारी दिनुभयो ।मोदीले रामाफोसालाई औद्योगिक राष्ट्रहरुको समूह जी–२० शिखर सम्मेलनका क्रममा भेटेर प्रमुख अतिथिका रुपमा उपस्थित भइदिन अनुरोध गर्नु भएको बताइएको छ ।

दक्षिण अफ्रिकासँग महात्मा गान्धीको विशेष र नजिकको सम्बन्ध भएकाले त्यही देशका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागेको मोदीले बताउनुभएको छ ।भारतमा राष्ट्रपिताका रुपमा सम्मान गरिने गान्धीले सन् १८९३ देखि १९१४ सम्म दक्षिण अफ्रिकामा बिताउनुभएको थियो । त्यहाँ उहाँले अधिवक्ताको रुपमा काम गर्नुभएको थियो ।

भारतमा भएको अहिंसा आन्दोलनको योजना गान्धीले दक्षिण अफ्रिकामै बनाउनुभएको थियो । काला जातिका मानिसलाई गोरा जातिका मानिसले गरेको भेदभावबाट रुष्ट भएर उहाँले भारतमा अङ्ग्रेज शासनविरुद्ध अहिंसात्मक आन्दोलन सुरु गर्नु भएको बताइन्छ ।भारतले अर्को बर्ष गान्धीको १५०आँै जन्मजयन्ती मनाउन लागेको छ ।

यसअघि भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका लागि आमन्त्रण गरेपनि समय अभाव जनाउँदै उहाँले उक्त समारोहमा उपस्थित हुन नसक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू