काठमाडौँ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरका कारण सुशासनमा अप्ठेरो परेको बताएका छन् । राजधानीमा नेपाल स्वतन्त्र होटेल, क्यासिनो रेस्टुरेन्ट मजदुर युनियन(नेस्वहोमयू) को ३८ औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले भने, ‘यहाँ दुर्भाग्यपूर्ण अवस्था छ । बिच–बिचमा एउटा स्टे अर्डर ल्याएर क्यासिनो चलाइदिएको हुन्छ । दुई ठाउँमा मेरो मन्त्रालयको जटिल अवस्था छ । एयरपोर्टको पसल हटाउने भनियो तर त्यही स्टे अर्डर लिएर आइदिन्छन्, अर्को क्यासिनोमा । म अदालतको सम्मान गर्दै भन्न चाहन्छ, यस्ता खालको स्टे अर्डरले क्यासिनो र एयरपोर्टमा सुशासन कायम गर्न अप्ठ्यारो भएको छ । हामी सुशासन चाहन्छौँ । गलत तरिकाको स्टे अर्डर आउने काम नहोस् । ’
कानुन नभएकाले पनि यो समस्या देखा परेको भन्दै उनले क्यासिनो लगायत पर्यटन क्षेत्रलाई समेट्ने नयाँ सङ्घीय पर्यटन ऐन–२०७५ जारी गर्ने तयारीमा सरकार रहेको बताए । उनले अबको तीन/चार महिनामा सांसदले त्यो कानुन ल्याउने र पर्यटन क्षेत्रका तमाम समस्या समाधान गर्न सहज हुने उनको विश्वास थियो ।
‘२०३५ सालको पर्यटन कानुन ८० प्रतिशत संशोधनको खाँचो देखिएपछि अहिले ऐनको मस्यौदा भइरहेको छ । आउँदो सांसदबाट पास गछौ, जसले क्यासिनो होटेल लगायत पर्यटन क्षेत्रका सबै क्षेत्र स्वतः कानूनद्धारा व्यवस्थित हुनेछन्, त्यति बेला स्टे अर्डरको काम हुने छैन ।’ उनले भने ।
उनले नेपालमा पर्यटनबाट जिडीपीको योगदान १० प्रतिशतसम्म पुर्याउनेबारे आफूहरूले सोचिरहेको पनि बताए ।
मजदुरको हकहितका लागि कुनै कसर बाँकी नराख्ने भन्दै उनले रोयल्टी नतिर्ने क्यासिनो नवीकरण नगरिने बताए । उनले भने, ‘सिमाक्षेत्रका केही महत्त्वपूर्ण ठाउँमा क्यासिनोको बढी सम्भावना रहेको त्यसलाई क्यासिनो हबकोरुपमा विकास गर्नुपर्दछ । नगरी पर्यटनको योगदान सोचेजस्तो हुँदैन । पुरातन सोचेर हुँदैन । ’ उनले अन्य पर्यटकीय प्रोडक्टको विकास गरिने पनि बताए ।
कार्यक्रममा होटेल सङ्घ नेपाल हानेका अध्यक्ष अमरमान शाक्यले मजदुरको दक्षता विकास गरी पर्यटनको विकासमा लाग्न आफूहरू दत्तचित्त रहेको बताएका थिए । त्यस्तै नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँवरले होटेल, क्यासिनो तथा रेस्टुरेन्ट क्षेत्रका मजदुरको समस्याका सन्दर्भमा पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सहभागी अन्य मजदुरले क्यासिनो तथा मनोरञ्जन क्षेत्रमा सञ्चालकले विभिन्न बहानामा ज्यादती गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
कार्यक्रममा अग्रज ट्रेड युनियनकर्मी र व्यवसायीलाई सम्मान गरिएको थियो । गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने युनियन आबद्ध मजदुरका तीन सन्ततिलाई ‘स्व. माधव न्यौपाने स्मृति छात्रवृत्ति’ समेत प्रदान गरिएको थियो । यसै गरी सर्वोत्कृष्ट ट्रेड युनियन पुरस्कार होटेल अन्नपूर्ण दरबारमार्गमा क्रियाशील आधिकारिक ट्रेड युनियनलाई प्रदान गरिएको थियो ।