अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 07:12

नेपाली नागरिकद्धारा पोचुगलमा विश्वकै ठुलो र दुर्लभ च्याउ सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:३१ मा प्रकाशित

नेपाली नागरिक एवं चर्चित ईटालियन सेफ टंक सापकोटाले विश्वकै ठुलो र दुर्लभ प्रजातिको च्याउ सार्वजनिक गर्नुभएको छ । विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको हो । सापकोटाले राजधानी लिस्वनमा आयोजित एक पत्रकार सम्मेलनमा इटालीबाट खरिद गरी पोर्चुगल लगिएको बिश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) सार्वजनिक गर्नुभएको हो । उक्त च्याउ विश्वमै पाँच वर्षयताकै सबैभन्दा ठूलो भएको दाबी गरिएको छ । पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन भन्दा बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले च्याउ सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दाबी गर्नुभयो । सो अवसरमा उहाँले च्याउको प्रकृति, स्वाद र विश्व बजारमा यसको महत्व लगायतको विषयमा जानकारी गराउनुभएको थियो ।

सार्वजनिक गरिएको च्याउको तौल एक किलो १५३ ग्राम रहेको छ । विश्वमै इटाली र क्रोएसियामा मात्र पाइने उक्त प्रजातिको ह्वाइट ट्रफल च्याउ विश्व बजारमा लाखौँ मूल्यमा खरीद बिक्री हुने जनाईएको छ । विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ह्वाइट डायमण्ड्य’ भनेर पनि चिनिन्छ । खरीद मूल्य सार्वजनिक नगरिएको भएपनि तौल र यसको बजार मूल्यका आधारमा सर्वाधिक महङ्गो मूल्यको ठूलो च्याउ पोर्चुगल भित्र्याउने सापकोटा अहिलेसम्मकै दोश्रो व्यक्ति बन्नुभएको छ । यसअघि सन् २०१६ मा एक पोर्चुगिज नागरिकले ६१८ ग्रामको ट्रफल च्याउ ३० हजार युरो अर्थात् करीब रु ३८ लाख नेपालीमा पहिलोपटक पोर्चुगल भित्र्याएका थिए ।

गत साता मात्रै इटालीमा भएको लिलाम बिक्रीमा ८८० ग्रामको सोही प्रजातिको च्याउ हङ्कङका एक नागरिकले ८५ हजार युरो अर्थात् करीब एक करोड १० लाख नेपालीमा खरीद गरि हङ्कङ लगेका थिए । सो प्रजातिको च्याउ इटालीमा हरेक वर्ष नोभेम्बर ११ मा लिलाम बिक्री हुने गर्दछ ।

खरीद मूल्य सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा सापकोटाले च्याउ अमूल्य भएको प्रतिक्रिया दिनुभएको छ । सापकोटाले च्याउको खरिद मूल्यभन्दा पनि विश्वकै ठूलो च्याउ प्राप्ति नै आफ्नो लागि सौभाग्य भएको उल्लेख गर्नुभयो । बचतमध्येको हिस्साबाट लगानी गरेर च्याउ खरीद गर्न सफल भएको उहाँको भनाइ थियो ।

मान्छेले फलाउन र खोज्नसमेत नसक्ने उक्त प्रजातिको च्याउ विशेष तालीम प्राप्त कुकुरबाट खोज्ने गरिन्छ । यो एक प्रकारको च्याउका रुपमा परिचित ‘ह्वाइट ट्रफल’ गिट्ठा जस्तै जमीनमुनि फल्ने ढुसीजन्य खाद्य वनस्पती हो । यसलाई इटालीयन खानामा मिसाएर विशेष परिकारका साथमा खाने प्रचलन छ । खानामा विशेष सुगन्ध र स्वादका रुपमा प्रयोग गरिने उक्त च्याउलाई पानीले पखालेर नपाइकन खानाको परिकारमाथि खुर्केर हाल्ने गरिन्छ । विश्वमै सर्वाधिक महंगो खानाको परिकारका रुपमा यसलाई लिने गरिन्छ ।

यसैबीच, सापकोटालाई इटालीमा सम्मान गरिएको छ । च्याउसम्बन्धी खानाको प्रचार प्रसारमा विशेष योगदान र्पूयाएको भन्दै विश्वभरका २० जनामध्ये पोर्चुगलबाट सापकोटालाई सम्मान गरिएको हो । सापकोटा च्याउ खानासम्बन्धी पोर्चुगलका लागि ब्राण्ड एम्बेस्डर समेत नियुक्त हुन सफल हुनुभएको छ ।सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालीयन र दुई नेपाली गरि पाँच ठूला रेष्टुरा सञ्चालनमा रहेका छन् । सापकोटा बिगत २० वर्षदेखि पोर्चुगल बस्दै आउनुभएको छ ।

प्रतिक्रिया