अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 22:23

युरोपियन युनियनद्वारा ब्रेक्सिट सम्झौता पारित

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:२७ मा प्रकाशित

युरोपियन युनियनबाट अलग हुने बेलायतको सम्झौतालाई युनियनका नेताहरुले पारित गरेका छन् । युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले यसको जानकारी दिनुभएको छ । युनियनका २७ नेताहरुको ब्रसेल्समा बसेको करिब एक घण्टा लामो बैठकपछि यो निर्णय गरिएको हो ।

स्पेनले अन्तिम समयमा गिब्राल्टारको बारेमा आफ्नो आपत्ति फिर्ता लिएपछि शनिबार टस्कले सम्झौता पारित हुने संकेत गर्नुभएको थियो । यद्यपि, यो सम्झौतालाई अझै बेलायतको संसदले पारित गर्नुपर्नेछ जहाँ अझै धेरै सांसदहरु यसको विरोध गरिरहेका छन् । अध्यक्ष टस्कले यसको जानकारी ट्वीटरमार्फत दिनुभएको छ ।

सन् २०१६ को जनमतसंग्रहपछि बेलयातले धारा ५० को प्रयोग गर्दै इयुबाट अलग हुने निर्णय गरेको थियो । यसपछि दुई पक्षबीच १८ महिना लामो छलफल पछि सम्झौता भएको थियो । बेलायतले सन् २०१९ को मार्च २९ मा इयुबाट अलग भइसक्ने बताएको छ ।

यो सम्झौताबारे डिसेम्बरको शुरुवातमा बेलायतको संसदमा भोटिङ हुनेछ । यद्यपि, लेबर, लिबरल डेमोक्र्याट, एसएनपी, डीयुपी र धेरै कन्जरभेटिभ सांसदहरुले यसको विपक्षमा भोट गर्ने तयारीमा रहेका कारण यो सम्झौता पास हुने अन्यौल कायम रहेको छ । यता, प्रधानमन्त्री थेरेसा मेले यो सम्झौता बेलायतका लागि उत्कृष्ट रहेको बताउँदै जनतालाई यसको समर्थनमा दबाब सृजना गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू