अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 15:04

राष्ट्रपति भण्डारीका लागि गाडी किन्न युवाहरुले पशुपतिमा भिख मागे

बिआरटीनेपाल २०७५ मंसिर ८ गते ३:५२ मा प्रकाशित

केही युवाहरूले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरू सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरूले सांकेतिक विरोधस्वरूप एक रुपैयाँ भिख मागेका हुन् ।

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भइरहेका बेला स्वतःस्फूर्त रूपमा युवाहरू भीख माग्ने कार्यक्रममा सहभागी भएका हुन् ।

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरूले ‘दान गर्नुहोस, पुन्य कमाउनुहोस’ भन्दै सर्वसाधारणसँग एक–एक रुपैयाँ भिख मागेका हुन् । १८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरूले निर्णयको विरोध गरेका छन् ।

युवाहरूले पशुपति वनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसँग भिख मागेका थिए । युवाहरूले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू