अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 01:11

महासमिति बैठकपछि कांग्रेसमा नयाँ युग सुरु – नेता अर्जुन नरसिंह केसी

बिआरटीनेपाल २०७५ मंसिर ८ गते २:२३ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महासमिति बैठकपछि कांग्रेस संस्थागत संरचनाको नयाँ युगमा प्रवेश गर्ने बताउनुभएको छ । उहाँले पार्टीलाई सामूहिक नेतृत्वमा जाने बताउँदै यसले पार्टीलाई नयाँ युगमा लैजाने बताउनुभएको हो ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटका क्रममा नेता केसीले पार्टीभित्र अब हुकुमी प्रवृति नचल्ने उल्लेख गर्दै सामूहिक नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी सभापतिलाई कमजोर बनाउने पक्षमा आफू नहरेको तर कसैको हुकुम मान्ने युगको भने अन्त्य भएको टिप्पणी गर्नुभयो । नेता केसीले पदाधिकारीहरू निर्वाचित हुने गरी विधान परिवर्तनको पक्षमा आफू रहेको प्रष्ट पार्नुभएको छ ।

पार्टी नीति र संस्थागत संरचनाका आधारमा चल्नुपर्ने भन्दै कसैको व्यक्तिगत इच्छाले लादिएको संगठनले काम गर्न नसक्ने तर्क गर्दै उहाँले समकालिन नेताहरू कांग्रेसको नेतृत्वमा भएकाले अग्रजको आधारमा कसैको आदेश मान्नुपर्छ भन्ने नरहेको बताउनुभयो ।  आगामि मंसिर २८ देखि पुस ३ गतेसम्म चल्ने महासमिति बैठकले पार्टीलाई नयाँ जीवन र गतीमा लैजाने केसीको दावी छ । नेता केसीले  पार्टीभित्र आन्तरिक द्वन्द्व कायम रहेको स्विकार गर्दै यसको समाधानमा नेतृत्व लागिपर्ने बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका नेता केसीले सरकारको २० प्रतिशत समयअवधिसम्म कांग्रेसले प्रतिक्षा गरेकाले आलोचना धेरै नगरेको बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवाले सरकारभन्दा पनि आफ्नो विरोधमा कांग्रेसका नेताहरू लागेको अभिव्यक्ति तर्फ इंगित गर्दै त्यसमा केहि कमजोरी भएको हुनसक्ने ठहर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू