अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 08:50

सन्तोष लामिछानेको “अल्टिमेट आकाश” सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर ७ गते २१:२६ मा प्रकाशित

अमेरिका निवासी साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ नोभेम्बर १७, २०१८ का दिन म्याडिसन, अमेरिकामा एक समारोहबिच सार्वजनिक गरियो । सो उपन्यास बेलायत स्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो । वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्द्धन पूजा, साहित्यकार कृष्ण बजगाईँको विशिष्ट आतिथ्यमा कार्यक्रम अगाडि बढेको थियो ।

उक्त कार्यक्रमका लागि बेलायतबाट आएका कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईँले कृतिको समीक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा “अल्टिमेट आकाश“ एउटा कोसे ढुङ्गाको रूपमा रहने धारणा व्यक्त गर्नु भयो । अमेरिकी भूमिमा युवाले गर्नु परेको सङ्घर्ष र सफलताको कथा रहेको उक्त उपन्यासको विषयवस्तु, भाषा शैली रोचक रहेको बताउनु भयो ।

उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृतिका तिता मिठा कुरा कोट्याउँदै, कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो मनसाय अगाडि पस्किनुभएको थियो ।

अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुसी लागेको बताए । साहित्यकार गोवर्द्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए ।

उपन्यासकार सन्तोष लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाइलाई उपन्यासको रूप दिएको बताउँदै केही हदसम्म भए पनि यसबाट नेपाली युवा लाभान्वित हुन सक्ने कुरा बताउनु भयो ।

नेपाली अमेरिकन मैत्री सङ्घ (नाफा)को आयोजना गरेको १०९औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् ‘नाफा साहित्यिक साँझ २०७५’ बिचमा उक्त विमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । प्रतियोगी तथा अप्रतियोगी गरी जम्माजम्मी ३५ वटा कविता वाचन गरिएको यो कार्यक्रममा नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

उक्त उपन्यास ‘आमा जोन’बाट अनलाइनमा बिक्री भई रहेको कुरा कार्यक्रममा बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू