अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 16:30

कांग्रेसका ३ कोईरालाद्धारा एक भएर अगाडि वढ्ने प्रण

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:५२ मा प्रकाशित

नेपाली कांग्रेसका कोइराला परिवारका तीन नेताले एक भएर अघि बढ्ने प्रण गरेका छन् । आइतबार जिपी फाउण्डेशन प्रदेश १ कार्यालयको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइरालाले पारिवारिक एकतासँगै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता जनाउनुभएको हो ।

विराटनगर स्थित ऐतिहासिक कोइराला निवास परिसरमा रहेको जिपी फाउण्डेशनको प्राङ्गणमा आयोजित कार्यक्रममा पुर्खाको विरासत सम्हाल्न आफूहरू एक जुट भएर अघि बढ्ने उहाँहरुको भनाई थियो । एकता, राजनीतिक निकास र पार्टीका हितका लागि आफूहरू व्यक्तिगत स्वार्थ त्याग गर्न पनि तयार रहेको महामन्त्री डा शशांक कोइरालाले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले पार्टी सभापति जोसुकै भए पनि राष्ट्र, जनता र पार्टीको हितका लागि आफूहरू त्याग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले ’कोइराला परिवारका तीन नेता तीनतिर’ भन्ने भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । कोइरालाले आफूहरू कहिलै पनि विभाजित नभएको दाबी समेत गर्नुभएको छ । ऐतिहासिक भूमिमा तीनै जनाले एउटै माला लगाएपछि अब सबै भ्रमहरू अन्त्य भएको नेताहरुको भनाई थियो ।

सुजाता कोइराला अध्यक्ष रहेको जिपी फाउण्डेशनले तीनै जना कोइराला परिवारका नेताहरूलाई एउटै माला लगाइदिएको थियो । कोइराला परिवारका तीन नेता धेरै वर्षपछि एउटै मञ्चमा सहभागि भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू