अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गर्नुभएको छ । स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका कारण पछिल्लो दुःखद घटना भएको बताउनुभयो । क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नजिकका गाउँ सहरमा फैलिएर हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने अन्य १ हजार भन्दा बढी बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् ।
डढेलोबाट स्थानिय शहर प्याराडाइज लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको औल्याएका छन् । अहिले डढेलो करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ । यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने अनुमान गरेका छन् । डढेलोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।
यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो । डढेलोबाट झण्डै १० हजार निजी घर र दुई हजार ५०० भन्दा बढी अन्य भवन ध्वस्त भएका छन् ।