विशेष अदालतले मुद्दा मिलाइदिने वहानामा सेवाग्राहिबाट घुस लिने प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । राईलाई विहिबार विशेषले घुस लिएको रकम बराबरको धरौटी लिएर छोड्ने आदेश दिएको हो । विशेषका न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उहाँलाइ छोड्न आदेश दिएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालिन प्रमुख डिएसपी राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । राईले सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन खरिद गरी ल्याइदिनु भन्दै जिन्सी साम्रगीको रुपमा घुस माग्दा अख्तियारले १ लाख ४० हजार रुपैयाँ नगदसहित एक महिना अघि नियन्त्रणमा लिएको थियो ।
राईले टिभी सेट आफै खरिद गरेर ल्याउने र पैसा सेवाग्राहीबाट तिर्न लगाउने गर्नुभएको जनाईएको छ । यसै सिलसिलामा एक सेवाग्राहीबाट टिभीको पैसा तिर्न लिएको घुस रकमसहित राई अख्तियारको फन्दामा पर्नुभएको थियो ।