अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 22:57

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ५:०२ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्त भएका छन् ।

मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीका अनुसार सोडारीलाई हटाइएको निर्णय प्रदेश प्रमुख मोहनराज मल्ललाई जानकारी गराई सकिएको छ।

२३ कात्तिक राती उनी सवार बा. २ झ ३१२५ नम्बरको गाडीले पूर्वपश्चिम राजमार्गको कैलालीस्थित बडैपुरमा मोटरसाइकललाई ठक्कर दिएको थियो । तिब्रगतिमा रहेको उनको गाडीले से. ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका थिए ।

उनी तत्कालै भाग्न खोजेका थिए । तर, स्थानीय बासिन्दाले उनलाई भाग्न खोज्दा समातेको थियो । त्यो घटनापछि उनको चर्को आलोचना भएको थियो ।

दुर्घटनामा उनका चालक धोजेन्द्र शाही, उनकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ भने सुरेन्द्रको अवस्था गम्भीर रहेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालर्यले उनको कार्यशैली सन्तोषजनक नभएको र सामाजिक विकासमन्त्रालयमा फजुल खर्च धेरै भएकाले पदमुक्त गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू