अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 00:20

प्राकृतिक उपचार खोज्दै दाहाल

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते १९:१७ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई स्वदेश तथा विदेशका ठूला अस्पतालमा आधुनिक पद्धतिबाट उपचार गराए । तैपनि अपेक्षित रूपमा निको भएन ।

पछिल्लो समय सीता दोस्रो व्यक्तिको सहाराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् । लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा थाइराइड उपचार गराउँदै आएकी सीताको अवस्था थप जटिल बन्दै गएपछि अध्यक्ष दाहालले प्राकृतिक उपचारको विकल्प रोजेका छन् । यसैका लागि उनी सोमबार परिवारसहित म्याग्दीको बेनी ४ स्थित सिंगा तातोपानी पुगे । उनका साथमा छोरी गंगा तथा निजी चिकित्सक पनि छन् । यहाँको तातोपानी ग्यास्ट्रिक, हाडजोर्नी, मुटुको रक्तचाप र छाला उपचारमा प्राकृतिक अस्पताल मानिन्छ ।

दाहाल दम्पतीसँगै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, श्रीमती नैनकला थापा, बहिनी रेनु मगर र ज्वाइँ प्रेम आले पनि तातोपानी कुण्डमा डुब्न आएका छन् । सिंगा तातोपानीमा डुबेर उपचार गर्न स्थानीय मात्र होइन, देशका विभिन्न ठाउँबाट बर्सेनि सयौं संख्यामा बिरामी म्याग्दी आउँछन् ।

दाहालको सचिवालयका अनुसार उनीहरूको टोली थप दुई दिन तातोपानीमा बस्ने कार्यक्रम छ । दाहालनिकटस्थ योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले सीता दाहाललाई तातोपानीमा डुब्दा कस्तो हुन्छ, प्रतिक्रिया हेरी बसाइ तय हुने बताए ।

तातोपानी कुण्डमा पुरुष र महिला २ घण्टाको पालो लगाएर पानीमा जिउ डुबाउने गर्छन् । २ घण्टापछि बाहिर निस्केर कम्बलभित्र गुम्सिएर खलखली पसिना निकाल्नुपर्छ । तातोपानीमा डुबिसकेपछि नजिकै रहेको तातोपानीको धाराले जिउ पखाल्नुपर्छ । तातोपानीका पोखरीमा सधैं भीडभाड हुन्छ ।

व्यवस्थापन समितिले दाहाल र थापा दम्पती आएपछि सोमबार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्मका लागि अन्य मानिसलाई प्रवेशमा रोक लगाएको थियो । खाली गराइएको कुण्डमा दाहाल नेतृत्वको विशिष्ट पाहुना टोली पसेको थियो । सोमबार बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनीहरू पारिवारिक भ्रमण भन्दै यहाँ आएका हुन् ।

बेनीदेखि ४ किमि माथि अथुंगे डाँडास्थित सेनाको श्रीबक्स गुल्ममा हेलिकप्टरबाट ओर्लेपछि बेनीको याक होटलमा पुगेर उनीहरूले खाना खाएका थिए । एक घण्टा कार्यकर्तासँग भेटघाटपछि १२ किमि पश्चिम म्याग्दी खोला किनारमा रहेको सिंगा तातोपानी पुगेका हुन् । कान्तिपुरबाट

प्रतिक्रिया