अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 00:06

मुख भन्दा पहिला हात छोड्ने बानीमा कहिले सुधार होला ?

प्रकाश श्रेष्ठ २०७५ कार्तिक २४ गते २२:५९ मा प्रकाशित

हामी नेपालीहरू शान्त स्वभाव, ईमान्दार, सहयोगी, मिलनसार, कर्तव्य निष्ठ छौ भनेर विश्व समुदायमा परिचित छौ । त्यसैको फलस्वरूप विश्वका सय भन्दा बढी मुलुकमा रोजगारी, अध्ययन, पेसा/व्यवसाय आदी प्रयोजनले गएर अस्थायी वा स्थायी बसोबास गरिरहेका बखत पनि उक्त देशका नागरिकहरूले नेपालीहरूलाई विश्वासिला, ईमान्दार मान्दै आएको पाइन्छ । यसो त आजकल नेपाल र विदेशमा रहेका नेपालीहरूले विगतमा झैँ आफ्नो नेपाली ईमान्दारिताको छविमा कमी ल्याई रहेको विभिन्न घटनाक्रम बाट पुष्टि हुँदै आएको छ । विशेष गरी चाडबाडहरू सामूहिक रूपमा मनाउँदा आपसमा कुटपिट गरी दंगाफर्साद गर्न, पार्कहरूमा वनभोज गर्दा जथाभाबी फोहोर गर्ने देखि घरेलु हिंसाहरू पनि बढ्दै गएको सुन्नमा आएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालको बढ्दो प्रयोगबाट देश विदेशमा बढ्दै गएको लुटपाट, बलात्कार, चोरीडकैटी, आपसी कुटपिट, सामूहिक सभासेमिनारमा हात हालाहाल, धाक धम्की, मारपिट बारे दिनहुँ जसो समाचारहरू विभिन्न अनलाइन मिडिया, व्यक्तिगत फेसबुक स्टाटस, भिडियो आदी मार्फत जानकारी मिल्ने गरेको छ । यसो त राजनीतिक रूपमा वा कुनै सार्वजनिक विरोधको शैलीमा विगत देखि नै ढुंगाुमुढा, टायर बाल्ने, रेलिङ भाँच्ने सामान्य नै छ हाम्रो मुलुकमा । यसो नगरी भद्र रूपमा गरिएको विरोध शैलीको कतैबाट सुनाई हुने परम्परा नै छैन । यो विरोधको शैलीमा कहिलेबाट परिवर्तन आउने हो थाहा छैन । राजनीतिमा धेरै खाले परिवर्तन र प्रयोग भए तर व्यवहारमा कुनै परिवर्तन आएन, न त विरोधको शैलीमा, न त नियम कानुन अनुसार जनताले सर्वसुलभ सेवा सुविधा पाउने सम्बन्धमा, न त भ्रष्टाचार एवं गुण्डागर्दी नियन्त्रण हुने सवालमा, न त नेताहरूको दादागिरी कम हुने सवालमै ।

यस्ता बेथितिबाट ग्रस्त मातृभूमि नेपालको बारे हरेक दिन समाचार सुन्दै आएका प्रदेशमा बस्ने नेपालीहरूले भर्खरै केही समय अगाडी अमेरिका जस्तो प्रेस स्वतन्त्रता भएको मुलुकमा नेपालीमुलका पत्रकार माथि नेपालकै प्रदेश मुख्यमन्त्री अमेरिका भ्रमणको बारे समाचार लेखिएकै आधारमा मन्त्रीका निकष्ट मानिने व्यक्तिबाट हातपात भएको समाचार पढ्न र पीडित पत्रकार (लोकमणि राई, बीआरटी नेपालका सम्पादक) बाटै आफू माथि एउटा देउसी भैलो कार्यक्रममा एक्कासि समाचार लेखेको विषय उठान गरी उमेश राई नाम गरेका व्यक्तिले अनुहारमा मुक्का प्रहार गरेको बताएका थिए । यसरी एउटा पत्रकारले समाचार लेखेकै भरमा कुटाई खानु पर्ने र कुटाई खाएका पत्रकारलाई कुट्ने व्यक्तिलाई माफी दिन सामूहिक दबाब आई रहेको र निज पीडित पत्रकार मानसिक दबाबमा परेको समेत फेसबुक लाइभमा बोलिरहेको देख्दा, सुन्दा के लाग्दै छ भने हामीमा अझै नेपाली मानसिकता र पिडकहरुलाई संरक्षण दिने परम्परागत नेपाली चलन विदेशमा समेत हाबी हुन लागेको त हैन भन्ने सर्वसाधारणले महसुस गरिएको छ ।

त्यसो त कतिपय कुरामा माफी दिनु पनि ठुलो सजाय हो तर पनि अमेरिका जस्तो देशमा कानुन र नियमलाई बेवास्ता गरी हातपात गर्न खोज्नु पक्कै उपयुक्त होइन अनि यो पत्रकार माथि विदेश( अमेरिका) मा हातपात भएको पहिलो घटनामै आपसी समझदारीमा माफी दिँदा आगामी दिनमा समेत यस्तै चलन चल्न सक्ने र जसले पनि जसलाई पनि सामान्य कुरामा मुख भन्दा पहिला मुक्का हान्ने प्रवृत्तिले प्रश्रय पाउन सक्ने भएकोले यस्तो गलत संस्कारले प्राथमिकता नपाओस् भन्नका लागी पनि अमेरिकी कानुन अनुसार पिडक/दोषीलाई कार्यवाही हुनु पर्छ र यसमा पीडितले खुट्टा कमाउनु हुँदैन भन्ने हाम्रो आग्रह हो ।

यो अहिलेको घटनाबाट हामी सबै नेपालीले एउटा पाठ अवश्य सिक्नु जरुरी छ की स्वदेशमा मात्र हैन प्रदेशमा समेत सकभर आपसमा भनाभन गरेर आवेशमा नआउ, आवेशमै आए पनि हातपात गर्ने वा कुटपिट नगरौँ । अझै प्रदेशको ठाउँमा आपसमा मिलेर अगाडी बढ्न सिकौँ, आपसमा असहमति भए भद्र तवरबाट संवाद गरेर सहमति वा आपसी सुझबुझमा समस्या समाधान गरौँ तर घरपरिवारमा होस् वा सहकर्मी कारिन्दासँग होस् वा छरछिमेक, साथीभाइ, जो कोहीलाई पनि हातपात गर्ने काम नगरौँ । नेपाल देखिको बानी मुख भन्दा पहिला हात चल्ने भए पनि विदेशमा टेक्दा बित्तिकै छोडौँ । त्यस्तैगरि कतिपय सामाजिक अभियान्ता भनेर परिचित व्यक्तिहरूले पनि घरमा श्रीमती कुटेर मानसिक तनाव दिने गरेका छन् भन्ने केही फेसबुकमा समाचार, स्टाटस पनि केही समय अगाडी आएको थियो जुन कुरा सत्य हो भने जो जसले यस्तै गर्दै आएका छन् यिनीहरू पनि सुध्रिनु जरुरी छ । बाहिर सुटेट्बुटेट् भएर हिँड्ने, भद्र देखिने तर घरमा श्रीमती, छोराछोरी कुटेर कसरी सामाजिक अभियन्ता हुन सकिन्छ ? एक पटक ठन्डा दिमागले सोचेर सुध्रिन पनि आग्रह छ र सर्वसाधारणबाट पनि यस्ता घरेलु हिस्साका कुनै पनि घटना घटाउन अग्रसर नहुनु आग्रह छ । हामी नेपालीहरूले सुधार गर्न सकिने कतिपय बानी ब्यहोरा समयमै सुधारौ नत्र यसले भविष्यमा गम्भीर रूप लिन सक्छ ।

अन्तमा पत्रकार, सामाजिक अभियन्ता, नेता देखि सर्वसाधारण जो कोही पनि कसैको सांघातिक हमला, हातपातबाट पीडित बन्न नपरोस् र यस्तो उदण्ड कार्यमा लाग्ने प्रति कानुनी कार्यवाही गर्न सबै तिरबाट साथ र सहयोग हुन सकोस् । वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता एवं मानवाधिकारको सबै तिरबाट पालन हुन सकोस्, सबैमा सद्बुद्धि आउन सकोस् यही कामना छ ।