अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 10:18

चिनियाँ र अमेरिकी रक्षामन्त्री बीच वासिङ्टनमा भेटवार्ता

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:२३ मा प्रकाशित

चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसबीच वासिङ्टनमा भेटवार्ता भएको छ । उहाँहरुबीच दुई देशबीचको सैनिक सम्बन्धका साथै अरु द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।चिनियाँ रक्षामन्त्री वेइ अमेरिकाको भ्रमणका क्रममा वासिङ्टन जानुभएके थियो । उहाँहरुबीच विशेषगरी चिनियाँ र अमेरिकी सैन्य सम्बन्धका विषयमा कुराकानी भएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ रक्षामन्त्री वेइले चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा एक महत्वपूर्ण सहमति बन्दै गएको र त्यस सहमतिले यी दुई देशबीचको रणनीतिक साझेदारीका लागि पनि ठूलो सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताउनुभएको छ । सो अवसरमा उहाँले दुवै पक्षले शान्त र सकारात्मक रुपमा सैनिक सम्बन्धमा जोड दिनुपर्ने भन्दै एक अर्काको सम्बन्धको सुधारका लागि आपसमा सम्मानको वातावरण निर्माण हुनुपर्ने र त्यसका लागि प्रक्रियाहरु अब शुरु गर्नुपर्ने बताउनुभयो ।

आपसी वार्ता र सहमति समझदारीबाट नै अहिलेको असमझदारीको अवस्था हट्ने उहाको भनाई रहेको छ । यस्तो सम्बन्ध सुधारको माध्यम चीन र अमेरिकाका राष्ट्रपतिहरुले पछिल्लो समयमा थालिसकेको र यसले दुवै देशलाई विभिन्न क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको पनि चिनियाँ रक्षामन्त्री वेइले बताउनुभयो ।

अमेरिकी रक्षामन्त्री म्याटिस् पनि चिनियाँ रक्षामन्त्रीको सकारात्मक धारणासँग सहमत भएको बताइएको छ । उहाँले संयुक्त राज्य अमेरिका जहिले पनि चीनसँग सैन्य सम्बन्धका माध्यमबाट चीनसँग असल सम्बन्धको विकासमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । अमेरिका र चीनबीच पछिल्लो समयमा विकसित असमझदारीलाई असल सम्बन्धमा परिणत गर्न सदा तत्पर र सकारात्मक रहेको म्याटिस्को धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू