अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 22:26

अन्तर्राष्ट्रिय जगतमा नेपालको उच्च छवि – परराष्ट्र मन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ८:४४ मा प्रकाशित

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको उच्च छवि बनेको बताउनुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले मंगलवार अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको पनि बताउनुभयो ।

मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाको सफलता र नयाँ संविधानको प्रगतिशील व्यवस्थाबारे सम्बोधन गरिरहँदा विश्व जगत्ले चनाखो भएर सुनेको उल्लेख गर्दै नेपालको छवि विगतको तुलनामा उच्च बनेको दावी गर्नुभयो ।

दक्षिण सुडान, अफगानिस्तान र म्यानमालगायत मुलुकका उच्चस्तरीय प्रतिनिधि नेपाल आएर यहाँको शान्ति प्रक्रियाबारे अध्ययन गरेर गएको भन्दै उहाँले पछिल्लो समयमा नेपालले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलितरूपमा सुधार गरेको बताउनुभयो । मुलकमा सङ्घीय संरचना भर्खरै बनेकाले सरकारले छोटो समयमा जनताका सबै अपेक्षा पूरा गर्न नसकेको मन्त्री ज्ञवालीको भनाइ थियो । उहाँले समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू