पूर्व मन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । दिवंगत तुलाधरको काठमाडौको शोभाभगवतीमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्यष्टिअघि लाजिम्पाटस्थित तुलाधरको निवासबाट शवयात्रा निकालिएको थियो । कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती पुर्याएर कर्णदीपमा उहाँको अन्त्यष्टि गरिएको हो । अन्त्येष्टि अघि उहाको पार्थिव शरिरमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो ।
यसअघि उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि लाजिम्पाटस्थित निवासमा राखिएको थियो । तुलाधरलाई अन्तिम श्रद्धान्जली दिन उपराष्ट्रपति ननदबहादुर पुन तुलाधर निवासमै पुग्नुभएको थियो । मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा तुलाधरको आईतबार दिउँसो निधन भएको हो । स्वर्गीय तुलाधरका श्रीमति, २ छोरा, २ छोरी रहेका छन् ।