अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 19:18

क्यानडामा साहित्य समाजले मनायो लक्ष्मी जयन्ती

गोविन्द रावत २०७५ कार्तिक १८ गते ९:२८ मा प्रकाशित

न त मञ्च थियो, न त कोही प्रमुख अतिथि । न त कसैले सभाको सभापतित्व गरेका थिए, न त खाँदा लगाउने काम नै भयो । यसरी नै कार्यक्रम सञ्चालन गर्दै आएको छ नेपाली साहित्य समाज, क्यानडाले ।समाजले सधा झै यस पटक पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ति काव्य वाचनका साथ मनायो । नोभेम्बर १२, १९०९ मा जन्मनु भएका महाकविको विलक्षण प्रतिभाका बारेमा जानकारी गराउँदै उनका कविताबाट बिट मार्दै समाजका महासचिव रविन थपलियाले कार्यक्रम सञ्चालन गर्न थाल्नु भयो । त्यसपछि समाजका संस्थापक तथा वर्तमान सभापति डा. गोविन्द रावतले देवकोटाको प्रतिभा र समाजमा त्यसको प्रभावका बारेमा प्रकाश पार्दै आप्रवासी नेपाली साहित्य मनहरूले देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने कामप्रति पहल गर्नु पर्ने अनुरोध गर्दै आफ्नो कविता वाचन गर्नु भयो ।

त्यसपछि समाजका संस्थापक तथा सल्लाहकार डा. तुलसी धरेलले आफ्नो कविताबाट समाजको विसंगति स्थितिमाथि व्यङ्ग्य गर्दै वाचन गर्नु भयो । कार्यक्रममा एन.आर.एन. क्यानडाका अध्यक्ष तथा समाजका सल्लाहकार गोपीकृष्ण काफ्लेले समाजले गरेका कार्यहरूको प्रशंसा गर्दै एन.आर.एन. क्यानडासँग सहकार्य गर्दै आएको समाजलाई सँगै हिँडेर मिलेर आप्रवासमा नेपाली भाषा साहित्यको संवर्द्धन गर्नु पर्ने भन्नु भयो ।

क्यानडामा ४० वर्षअघिदेखि नेपाली भाषा साहित्य र समाजको सेवा गर्दै आउनु भएका किरण ढुङ्गानाले आफ्ना कृतिका बारेमा जानकारी गराउनु भयो । त्यसपछि सुरु भएको एकपछि अर्को काव्यको वर्षाले उपस्थित काव्य पाठकहरूलाई छताछुल्ल पारी दिएको थियो । काव्य वाचन गर्नु हुनेहरूमा पुण्य सागर मरहट्टाले लौ तेरो भारत महान् र जात्रै भो हजुर जात्रै व्यङ्ग्य कविता सुनाउनु भयो, केशव मरहट्टाले श्रद्धान्जली महाकविप्रति छन्द कविता, रवि बस्नेतले लाखे र जिन्दगी के हो दुईवटा सांस्कृतिक झलक र जीवन दृष्टि भएको कविता वाचन गर्नु भयो । योगेन्द्र रेग्मीले गजल, गोपीकृष्ण काफ्लेले गजल र हाइकु, खेम गुँरागाईले फिरङ्गीको देश सटिक र मातृत्व मूल्य बोध भएको कविता वाचन गर्नु भयो ।

लीलानाथ पाण्डेले आसा मरेको दिन, निराशावादी कवितासँगै सुमधुर गीत सुनाउनु भयो । राधिका अर्यालले चर्चित हुने मन छ देवकोटाप्रति प्रश्न सोधिएको कविता, सावित्रा विष्टले भाइटिका कविता, प्रदीप पौडेलले मानसलाई जीवन बोध गराउने समय र जीवन दुई टुक्रा काव्य प्रस्तुत गर्नु भयो । त्यस्तै कार्यक्रमको अन्त्यमा समाजका पूर्व अध्यक्ष मुक्ति गौतमले पठाउनु भएको हजारी पूmल र दिदी, जीवनको वास्तविकतालाई स्पर्श गरेको कवितालाई रविन थपलियाले पढेर सुनाउनु भयो । समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश थापाले देवकोटाको कविता गीत सुनाएपछि दसैँ र आमा दुईवटक कविता वाचन गर्नु भयो । कार्यक्रमको अन्त्यमा अनुप न्यौपानेले गोष्ष्ठीको वातावरणलाईनै रमाइलो बनाउन आफ्नो चर्चित कविता श्रीमती पुराण सुनाएर मनोरञ्जन पस्कनु भयो ।

कार्यक्रमको आक्रशक बन्न पुगेको थियो शिक्षक र विद्यार्थीको ३० वर्षपछिको भेट । नेपालबाट भ्रमणमा आउनु भएका शारदा मरहट्टलाई देखेर रवि बस्नेतले म हजुरको विद्यार्थी र ३० वर्षपछि भेट्दै छु भनेपछि सभाको वातावरण नै एकै छिन तालीले गुञ्जयमान भएको थियो । कार्यक्रममा लक्ष्मी गौतम, शारदा ढुङ्गाना, रोशन बस्नेत, श्याम श्रेष्ठ, किरण पौडेल, टङ्क दरङ्गा, उमेश कोइराला, वीरेन्द्र लम्साल, दिनेश खतिवडा, चेतराज खड्का, अञ्जती भट्टराई, हरिप्रसाद लामिछाने, लक्ष्मी रेग्मी आदिले काव्य श्रवणबाट पाउने सुखका कविताप्रतिको रुचिका बारेमा आफ्ना अनुभवसँगै अर्को पटक काव्य लिएर उपस्थित हुने रहर रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया