नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताउनुभएको छ । विगतमा ल्याण्डलक्ड वा अझ इन्डियालक्ड रहँदै आएको नेपाल अहिले ल्याण्डलिंक्ड बनिसकेको उहाँले बताउनुभयो । प्रदेश नं ५ को बुटवलमा आयोजित शुभकामना आदान प्रदान सभालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले चिनिया बन्दरगाहमा नेपालको पहुँच, हवाई सेवा विस्तार, रेल सेवालगायत टेलिकम्युनिकेसन कनेक्टीभिटीले नेपाल ल्याण्डलिंक्ड मुलुक बनिसकेको र यसले विकासको गति तीव्र हुन लागको उल्लेख गर्नुभयो ।
संविधानले तोकेको सिमा भित्रै मौलिक हक कार्यान्वयन लगायतका विभिन्न कानुन बनाएर मानव विकास तथा आर्थिक विकासका लागि आधार तयार गरिएको भन्दै तीनकै आधारमा विकास प्राप्त गरिने अध्यक्ष प्रचण्डले बताउनुभयो । सरकारका काम हरुको प्रचार भन्दा धेरै विपक्षी को हल्ला धेरै भएको भन्दै उहाँले अवको पाँच वर्षमा नेपालमा आवश्यक सबै खाले न्युनतम पूर्वाधार बनिसक्ने र अर्को ५ वर्षमा एसियाली मापदण्डभन्दा माथि नै पुग्ने दाबी गर्नुभयो ।
इतिहासको लामो समय राजनीतिकै चरण हरुमा गुज्रिदा विकास ओझेलमा परेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले अब मुलुकमा विकास भन्दा कुनै एजेण्डा नै वाँकी नरहेको बताउनुभयो । कम्युनिष्ट सरकारले विकासमा क्रान्ती नल्याए देश नै ध्वंश हुने खतरा रहेको समेत उहाँले बताउनुभयो । राजनीतिक इच्छशक्ति र संघीयताको उद्धेश्य प्राप्तिमा कतै कतै कर्मचारीतन्त्र अलमलिएको जस्तो देखिएको भन्दै प्रचण्डले कर्मचारी तन्त्रलाई पनि नयाँ परिवेश बुझाउन जरुरी रहेको आबश्यकता औल्याउनुभयो ।
कार्यक्रममा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सो प्रदेशका विकासका संभावनाका क्षेत्र र सरकारका कार्ययोजना बारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेकपाका महासचिब विष्णु पौडेल, नेता टोपबहादुर रायमाझीलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।