प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राख्नुभएको छ । स्थापितलाई हटाउने विषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गर्न उहाँ बिहीबार काठमाडौं जानुभएको थियो । पौडेलले प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार दुईपटक भेटेर सहमति लिइ स्थापितलाई बर्खास्त गर्नुभएको हो ।
पदीय जिम्मेवारी वहन नगरी अभद्र र अशिष्ट व्यवहार गरेकोले स्थापितलाई पदबाट हटाईएको मुख्य मन्त्री पौडेलले जानकारी दिनुभयो । मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोप लाग्दै आएको थियो । बुधबारको मन्त्रिपरिषद बैठकमा पनि मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेपछि स्थापितले अभद्र व्यवहार गर्नुभएको बताईएको छ ।
यसैवीच, मन्त्री स्थापितले भने आफुलाई पदबाट बर्खास्त गरिएको वारे कुनै जानकारी नभएको वताउनुभएको छ ।