अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 19:01

उत्तर कोरियाली राष्ट्रपतिको सिओल भ्रमण चाँडै

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते २०:०८ मा प्रकाशित

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सिओलको भ्रमण गर्ने बताएका छन ।

गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता कीमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो । तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन ।

तर दक्षिण कोरियाली राष्ट्रपति मूनले यसै वर्ष कीमले दक्षिण कोरिया भ्रमण गर्ने बताएका थिए। सांसदहरुको प्रश्नको बिहीबार जवाफ दिँदै मूनले शान्तिका लागि कोरियाली प्रायःद्वीप ऐतिहासिक मोडमा पुगेको बताए ।

“उत्तर कोरियाली नेता कीम जोङ अनको रुस भ्रमण र चिनीया राष्ट्रपति सी जिनपिङको उत्तर कोरिया भ्रमण चाँडै हुँदैछ,” मूनले भने । उनले कीम र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच पनि भेटघाट हुने सम्भावना बढेको बताए ।

राष्ट्रपति मूनले भने, “अध्यक्ष कीम जोङ अनको सिओल भ्रमण चाँडै हुनेछ ।” तर उनले भ्रमणबारे विस्तृत जानकारी भने दिएका छैनन।

कुटनीतिक पहल निकै बाक्लो भइरहे पनि सिओल र वासिङ्टनबीच पछिल्ला समयमा मतभिन्नता देखिन थालेका छन् । दक्षिण कोरियाको मित्रशक्तिका रुपमा रहेको अमेरिकाले उत्तर कोरियाको चुनौती सामना गर्न दक्षिणमा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ गरेको छ ।

मून, कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा अमेरिका र उत्तर कोरियाबीच कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्न आणविक निःशस्त्रीकरण गर्नेसम्बन्धी सम्झौता भएको थियो । तर, यो सम्झौतापछि खासै प्रगति भएको छैन ।

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथिका आर्थिक प्रतिबन्धहरु फुकुवा गरेको छैन । अमेरिकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको भरपर्दो र विश्वसनीय आधार प्रस्तुत नगरेको भन्दै निरन्तर दबाब दिइआएको छ । उत्तर कोरियाले आर्थिक प्रतिबन्ध तत्काल फुकुवा गर्न अमेरिका सहित अन्य मुलुकसँग आग्रह गरिरहेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यसैसाता सिओल र वासिङ्टनबीच समन्वयात्मक कार्यहरुलाई थप गति दिन नयाँ कार्यसमूह गठन गर्ने सहमति भएको जनाएको छ ।

यसै महिना हुने अमेरिकी मध्यावधि चुनावपछि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता र उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदैछन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू