अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 13:39

राष्ट्रिय परिचयपत्र छाप्न शुरु

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते १०:११ मा प्रकाशित

नेपाल सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाईको काम शुरु गरेको छ । गृहसचिव प्रेम राईले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुवात गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० ओटा परिचयपत्र छाप्नुभएको छ । पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ शुुरुआत गरेको हो ।

सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण संकलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिनुभएको छ । केन्द्रले पहिलो चरणमा पाँचथरका १ लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका ७ हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको जनाएको छ ।

अहिले सबैको व्यक्तिगत र जैविक विवरण संकलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा र अन्यको परिचयपत्र पछि छापिने उहाँले बताउनुभयो । केन्द्रका कम्प्युटर इन्जिनियर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले यन्त्र उपलब्ध गराएपछि परिचयपत्रको छपाइ गरिएको जानकारी दिनुभयो । केन्द्रले अमेरिकामा बनेको अत्याधुनिक यन्त्र ‘डाटा कार्ड कम्पनी’बाट प्रतिघन्टा ५०० को दरले परिचयपत्र छाप्ने इन्जिनियर बोहराले जानकारी दिनुभएको छ ।

परिचयपत्रमा एउटा कार्ड र यन्त्रले पढ्नसक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ रहेको हुन्छ । यन्त्रमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ । त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि यन्त्रबाट परिचयपत्र बाहिर निस्कने कम्प्युटर इन्जिनियर बोहराले जानकारी बताउनुभयो । सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन लागेको हो ।

सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचयपत्रको काम शुरु भएको हो । यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू