काठमाडौँ, नेपाल स्रष्टा समाजले भारतको असम, तेजपुर क्षेत्रका भारतीय नेपाली साहित्यकारहरूलाई सम्मान तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गर्यो । अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा अतिथि साहित्यकार ज्ञानबहादुर क्षेत्रीले नेपाली भाषा राष्ट्रको सीमा पार गरेर विश्वमा पुगिरहेको अवस्थामा नेपाली भाषा साहित्यको बारेमा केही जानकारी प्राप्त गर्ने उद्देश्यले आपूmहरु नेपाल आएको बताउनुभयो ।
प्रमुख अतिथि नगेन्द्रराज शर्माले हाम्रो देश सानो भए पनि यहाँको साहित्य कम नरहेको बताउँदै नेपाली साहित्यलाई विश्वमा पुर्याउनको निम्ति अनुवाद अत्यन्त महत्त्वपूर्ण रहेको विचार राख्नुभयो ।
विशिष्ट अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले अनुवाद साहित्यको महत्त्वमाथि प्रकाश पार्दै नोबेल पुरस्कार प्राप्त ११६ कृतिहरूमध्ये ३४ वटा मौलिक कृतिले मात्र नोबेल पुरस्कार प्राप्त गरेको र अरू बाँकी कृतिहरू सबै अनुवाद साहित्य रहेको उल्लेख गर्नुभयो । भारतमा पनि २७ जना नेपाली साहित्यकारले अनुवाद साहित्यमा नै पुरस्कार प्राप्त गरेको जानकारी दिँदै नेपाली साहित्यलाई अनुवाद गरेर विश्व सामु पुर्याउनु अत्यावश्यक रहेकोले आफूले नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा अनुवादक परिचय कोषको कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले नेपालका नेपालीले, भारतका विभिन्न प्रान्तमा रहेका नेपालीले र अन्य मुलुकमा बसेका नेपालीहरूले गरेको साहित्यको तुलना र स्तर निर्धारण गर्नु अन्याय हुने बताउँदै नेपालभन्दा बाहिर रहेका नेपाली भाषी नेपालीहरूले गरेको साहित्यको बेग्लाबेग्लै परिवेशमा मूल्याङ्कन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाली नाट्य सम्मेलनका अध्यक्ष चन्द्रमणि उपाध्यायले पूर्वाञ्चल भारतमा नेपाली नाट्य विकास विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो.। कार्यक्रममा अतिथि कविहरू विष्णु शास्त्री, माधव भट्टराई, छत्रमान सुब्बा र प्राञ्जल प्रतीम बोरा र नेपालका साहित्यकारहरू विजयराज न्यौपाने, विष्णु राई तथा प्रभा भट्टराईले कविता वाचन गर्नुभएको थियो।कार्यक्रममा मन्तव्य प्रस्तुत गर्दै नेपाल स्रष्टा समाजका निवर्तमान अध्यक्ष पवन आलोकले असमका विभिन्न साहित्यिक संस्थाहरूसँग मिलेर नेपाली भाषा साहित्यको विकासको निम्ति आपसी सहयोगलाई अझ विस्तार गर्ने नेपाल स्रष्टा समाजको उद्देश्य रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल स्रष्टा समाजकी महासचिव पुष्पा खनालले स्वागत मन्तव्य राख्नुभएको थियो । सो क्रममा उहाँले समाजका गतिविधिहरूको जानकारी दिँदै र नेपाली वाङ््मयको विकास र विस्तारमा समाजले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो ।
नेपाल स्रष्टा समाजकी सचिव जानु धितालले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष नवराज तिमिल्सिना ‘अवदोशी’ले कार्यक्रममा उपस्थित सबैमा कृतज्ञता प्रकट गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरू पुष्कर लोहनी, शैलेन्द्र साकार, रमेश खकुरेल, रोचक घिमिरे, ठाकुर शर्मा भण्डारी, वासुदेव अधिकारी, नारायण तिवारी, विश्वबिमोहन श्रेष्ठ, गणेश रसिक, खेमराज पोखरेल, सरिता अर्याल, दिव्य गिरी, काशीराज आचार्य, सिल्की मून, आदिको उपस्थिति रहेको थियो।