अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 15:28

काठमाडौंमा पण्डित सम्मेलन जारी

बिआरटीनेपाल २०७५ कार्तिक १० गते १:४८ मा प्रकाशित

काठमाडौंमा शुक्रवारदेखि शुरु भएको पाँचौँ पण्डित सम्मेलन जारी रहेको छ । राष्ट्रिय धर्मसभा नेपालले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको उद्घाटनका क्रममा दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमीजस्ता सनातनदेखि चलिआएका मौलिक धर्म, संस्कृति र चाडबाडका बिदा काटिएको भन्दै पण्डितहरुले आपत्ति जनाएका छन् । सहभागी पण्डितहरूले चाडबाडका बिदा कटौती अविलम्ब फिर्ता लिन माग गरेको जनाईएको छ ।

सम्मेलनमा वोल्दै पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले भाषा, धर्म र संस्कृतिमाथि नियोजित तवरले आक्रमण गर्ने क्रममा कसैको इशारामा बिदा कटौती गरिएको वताउनुभयो । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, समितिका पूर्वअध्यक्ष तथा धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी, हिन्दू जनजागृति संस्थान भारत गोवाका अध्यक्ष डा चारुदत्त पिँगले, किराँत ज्योतिषी सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, लामा धर्मगुरु खिलबहादुर थिङ लामा, पर्व सुधार अभियानकर्मी हरिनारायण मल्ललगायतले नेपालका मौलिक धर्मसंस्कृति संरक्षणका लागि सबैका सामूहिक आवाज आवश्यक रहेकामा जोड दिएका छन् ।

शनिबारसम्म चल्ने सम्मेलनमा शुक्रबार पूर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले ‘वर्तमान कानूनमा व्यवस्था भएका धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्था’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभयो । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ‘धार्मिक क्षेत्रमा देखिएका समस्या’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभयो ।
ती दुवै कार्यपत्रमाथि शनिबार छलफल गरी चार सम्मेलनले पारित गरेका घोषणापत्रको कार्यान्वयनका विषयमा धर्मसभाका अध्यक्ष प्रा डा भट्टराईले अर्को कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव अरुणकुमार पाण्डेले जानकारी दिनुभयो । शनिबार नै सहभागीले उठाउने धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद्ले गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।

सम्मेलनमा हिन्दू, बौद्ध, जैन, शिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढीको सहभागिता छ । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । काजक्रिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्मसंस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा सहभागीले जोड दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू