अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 23:10

राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेश पलायन

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ८:०६ मा प्रकाशित

मुलुकमा व्याप्त चरम राजनीतिकरणका कारण नेपालका वैज्ञानिकहरु विदेश पलायन हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको चारदिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली बुद्धिजीवी तथा वैज्ञानिकहरुले राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेशिनुपरेको भन्दै यस्तो चिन्ता जनाएका हुन् ।

सो अवसरमा उनीहरुले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा सरकारको लगानी एकदमै न्यून भएको र केही गर्छु भन्ने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई समेत सहयोग र अवसर नदिएको गुनासो गरेका छन् । नेपालका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई समेत बौद्धिक सम्पत्ति अधिकार दिन सरकारसँग माग गर्दै सम्मेलनका सहभागीहरुले अझैपनि देशमै रहेका वैज्ञानिकहरुलाई विदेशिनबाट रोक्न सरकारले योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सरकारले मदन भण्डारी विश्वविद्यालय खोल्ने स्वीकृति दिनु सकारात्मक भएपनि यसअघि नै सन्चालनमा रहेका विश्वविद्यालयहरुलाई धरासायी हुनबाट जोगाउनेतर्फ पनि ध्यान दिनुपर्ने बुद्धिजीवीहरुको भनाइ थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिनुभयो । विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई स्वदेश फर्कन उहाँले आग्रह समेत गर्नुभएको छ । सम्मेलनमा नेपाल, जापान, जर्मनी लगायतका १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू