नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए ।
गत वर्ष सङ्घ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन । चियापानको तयारीबारे आज नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गर्नुभएको छ ।
चियापानका लागि नेकपाले करीब ५० हजारलाई निम्ता गरेको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार चियापानमा करीब ३५ हजार सहभागी हुने छन् । चियापान कार्यक्रम अपरान्हे १२ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।
केन्द्रीय सदस्य श्रेष्ठका अनुसार चियापानमा दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण तथा दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको छ । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिने नेकपाले जनाएको छ ।