प्रमख राजनीतिक दल आवद्ध विद्यार्थी संगठनहरुले मुलुकमा वढ्दो महिला हत्या, हिंसा, वलात्कार र महंगी रोक्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजिनामा माग गरेका छन् । शुक्रवार काठमाण्डौंमा आयोजित साक्षात्कारमा वोल्दै उनीहरुले यस्तो माग गरेका हुन् ।
प्रहरी प्रमुखलाई ५० किलोको मालाः क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ्ग
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाइदिने घोषणा गर्नुभएको छ । सत्तारुढ दलको भातृ संगठनका अध्यक्ष समेत रहनुभएका तामाङले आइजीपी खनालको बर्खास्तीबारे आएका चर्चाको प्रसंग कोट्याउदै अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेकोमा विद्यार्थी संगठनहरुमात्रै नभई धेरै नेपाली जनता रुष्ट भएको वताउनुभयो ।
काठमाडौंमा शुक्रबार आयोजित साक्षात्कारमा वोल्दै अध्यक्ष तामाङले न्याय दिने विषय सबैको चासोको विषय भएको भन्दै जनताको न्याय प्रतिको आस्था र विश्वास मरे त्यसको जवाफदेही को हुन्छ ? भनेर प्रश्न गर्नुभयो । अध्यक्ष तामाङले आइजीपीको बर्खास्तीका सवालमा प्रहरीसंग डुलेको र हिँडेको भरमा कसैलाई छुटाउन गएको भए आफुहरु सार्वजनिक जीवन त्याग्न तयार रहेको प्रष्ट पार्नुभयो ।
प्रहरीको मनोबल गिराउने आफुहरुको उद्धेश्य नरहेको उल्लेख गर्दै तामाङ्गले निर्मलाका हत्यारा पत्ता लगाई पीडित परिवारलाई कुनैपनि हालतमा न्याय दिलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । पन्तको परिवारले न्याय पाए पुलिस अफिसरलाई रिङरोडमा रथयात्रा गराउने उहाको भनाई थियो । तर, न्यायको भीखलाई कमजोरी ठाने परिणाम राम्रो नहुने उहाँको चेतावनी थियो ।
निर्मला पन्त प्रकरणमा प्रहरीको संलग्नता– अनेरास्ववियु उपाध्यक्ष वर्तौला
अनेरास्ववियुका कार्यबहाक उपाध्यक्ष महेश वर्तौलाले निर्मला हत्या प्रकरणमा प्रहरीकै संलग्नता रहेको वताउनुभएको छ । प्रहरी उक्त घटनाको अनुसन्धानमा चुकेको मात्रै नभइ समग्र पेरिफेरिमा प्रहरीकै संलग्नता रहेको उहाँले दावी गर्नुभयो । काठमाण्डौंमा आज आयोजित साक्षात्कारमा वोल्दै उहाँले सरकार भयरहित समाज निमार्णमा अघि बढेको बेला प्रहरीको नेतृत्वले नै निर्मला हत्या प्रकरणमा असहयोग गरेको समेत आरोप लगाउनुभयो ।
आइजीपीकै उदासिनताका कारण मुलुकमा अपराध बढेको बढ्यै रहेको उल्लेख गर्दै उहाँले आइजीपी सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभयो । सुन तस्कर खुलमखुला हिँडिरहेको भन्दै तस्करीको सेटिङ चलिरहेको तर, आइजीपी भने उदासिन रहेको उहाँको आरोप थियो ।
सरकारले अपराधी संरक्षण ग¥यो– नेवि संघ अध्यक्ष महर
नेविसंघका अध्यक्ष नैनसिंह महरले अपराधी संरक्षण गर्न सरकार नै लागिपरेको आरोप लगाउनुभएको छ । काठमाण्डौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सरकारकै कारण पीडितले न्याय नपाएको ठहर गर्नुभएको हो ।
४५ भन्दा बढी घटनामा सरकार नै संलग्न भएको फेहरिस्त आफुसँग रहेको दाबी गर्दै महरले आइजीपीलाई बर्खास्त गर्ने नभई प्रधानमन्त्री ओली नेतृत्वको सरकार नै असफल भएकाले ओलीलाई हटाउनुपर्ने वताउनुभयो ।
एक फरक प्रसङ्गमा उहाँले चाडपर्वको मुखमा ३०० प्रतिशतले मूल्यवृद्धि भएकोमा समेत आपत्ति जनाउनुभयो । यसअघि, बिहिबार अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामासहितको विद्यार्थीहरुको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटेर निर्मला पन्तका हत्यारा पत्ता नलगाएको भन्दै आइजीपी खनाललाई बर्खास्त गर्न माग गरेको थियो ।