अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 21:25

प्रधानमन्त्री ओली स्वदेश फिर्ता / सरकार ५ वर्ष कायम रहने दावी

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:५४ मा प्रकाशित

संयुक्त राष्ट्र संघको ७३ औं महासभालाई सम्बोधन गर्न अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली विहीवार स्वदेश फर्कनुभएको छ । असोज ६ गते न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली करिब २ सातापछि आज अपरान्ह काठमाडौं आईपुग्नुभएको हो । प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारका रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा लगायतले स्वागत गर्नुभएको थियो ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न अन्तरक्रिया तथा छलफल कार्यक्रमममा सहभागी हुनुभएको थियो । महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमणसमेत गर्नुभएको थियो । त्यहाँ शान्ति विश्वविद्यालयले उहाँलाई मानार्थ विद्यावारिधिको उपाधि समेत दिएको थियो ।

सरकार ५ वर्ष ढल्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकार ५ वर्षसम्म कायम रहने वताउनुभएको छ । अमेरिका र कोस्टारिकाको भ्रमण पूरा गरेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरुसँग कुराकानी गर्दै ओलीले सरकार ५ वर्षसम्म चल्ने र त्यसपछि हुने चुनावबाट थप बलियो भएर आउने दाबी गर्नुभयो । सरकारको गति र लक्षण सबैसामु छर्लङ्ग रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका विरुद्धमा अनर्गल प्रचार आवश्यक नरहेको ठहर गर्नुभयो ।
आफू नेतृत्वको सरकार बनेपछि केही कामै नभएको जसरी टिकाटिप्पणी भएको प्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले सरकार विरोधी वाक् हमला गाली गरेपछि सन्तोष मान्ने कुरा मात्रै भएको टिप्पणी गर्नुभयो । ओलीले नेता माधव नेपालसँग आफ्नो पुरानो मित्रता रहेको भन्दै पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको टिप्पणी गर्नुभयो ।
नेता नेपाल पुरानो मित्र

नेता नेपालसँग आफ्नो २९ सालदेखि मित्रता रहेको भन्दै ढुक्क हुन उहाँले सवैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओली अमेरिका रहँदा सत्तारुढ नेकपाकै वरिष्ठ नेता माधव नेपालले संसद् बैठकमा सरकारको कामकारबाहीका सम्बन्धमा आलोचना गर्नुभएको थियो ।

कसैलाई पनि पार्टी एकताको विश्वास नलागेको अवस्थामा आफूहरुले पार्टी एकीकरण गरेर आएको भन्दै उहाँले अबको दुई/चार दिनमा नेकपाका तल्ला तहका कमिटीहरुको एकताले पनि पूर्णता पाउने दाबी गर्नुभयो । चीन, भारतमात्र नभइ विश्व नै नेपालको छिमेकी बन्न गइरहेको भन्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महानसभा र त्यसबाहिर भएका ‘साइडलाइन’ बैठकहरुमा आफूले नेपालको समृद्धि यात्राको विषयमा जानकारी दिएको वताउनुभयो ।

विश्व समुदायमा नेपालको स्वतन्त्र राष्ट्रको छवि बनाउन सफल भएको, विकास निर्माणमा सहयोगका लागि अपिल गरेको भन्दै आफ्नो भ्रमण अत्यन्तै सफल बनेको प्रधानमन्त्रीले दावी गर्नुभयो । आफ्नो सम्पन्न अमेरिका तथा कोष्टारिका भ्रमण फलदारी भएको समेत प्रधानमन्त्रीको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू