बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग सहित मंगलबार महेन्द्रनगरमा हात–हातमा कुचो समातेर महिलाहरुले प्रदर्शन गरेका छन् । दबावमुलक संघर्ष समितिको अगुवाईमा महिलाहरुले हातमा कुचो समातेर महेन्द्रनगर बजारमा प्रदर्शन गरेका हुन् । बजार क्षेत्रका विभिन्न स्थानमा प्रदर्शन गरेका महिलाहरुले जिल्ला प्रशासनको मुल गेटमा पुगेर केहीबेर प्रदर्शन गरेका थिए । उनीहरुले निर्मला पन्तको बलात्कार र हत्याका अपराधि पक्राउ नपरेसम्म आफूहरुको आन्दोलन जारी रहने वताएका छन् ।
बुधवार सुदूरपश्चिम प्रदेश सरकार कार्यालयमा घेराउ र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको दबावमुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले जानकारी दिनुभयो । दबावमुलक संघर्ष समितिले घटना भएदेखि नै चरणबद्ध रुपमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।