अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 23:48

प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि प्रदान

बिआरटीनेपाल २०७५ असोज १६ गते ९:२२ मा प्रकाशित

युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि र्पुयाएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । कोष्टारिकाको सान होजे मा आयोजित एक विशेष समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको वताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वका नेताहरू जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्र सङ्घमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकताबद्ध भएको उल्लेख गर्नुभयो । राष्ट्र सङ्घको महासभाको ७३ औँ महाधिवेशनमा आतङ्कवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले सो विश्वविद्यालयसँग मानवले भोगेका द्विविधा समाधान गर्ने उपाय हुने भएकाले त्यसको समाधान खोज्नुपर्नेमा जोड दिँदै शान्ति र सहिष्णुताको संस्कृति सिर्जना गर्ने, त्यसको खोजलाई अभिप्रेरित गर्ने र त्यसबाट विश्वले हाल भोगेका द्विविधाको समाधान दिने विश्वास व्यक्त गर्नुभयो ।

शान्ति विश्वविद्यालय स्थापना गर्न तयार गरिएको अन्तर्रा्ष्ट्रिय सन्धि लाई शान्ति विश्वविद्यालय बडापत्र भनिन्छ । नेपाल यस विश्वविद्यालयको बडापत्रमा हस्ताक्षर गर्ने ४१ औँ मुलुक बनेको छ । उक्त विश्वविद्यालय राष्ट्र सङ्घको महासभाको सन् १९८० को डिसेम्बर ५ को निर्णय वमोजिम स्थापना भएको हो । सो विश्वविद्यालयलाई ‘शान्तिसम्बन्धी सबै विषयको अन्तरविषयगत अध्ययनमार्फत मानव तथा समाजको विकासका लागि शिक्षण, अनुसन्धान, स्नातकोत्तर तालीममा संलग्न हुने र आधारभूत ज्ञान प्रवाह गर्ने’ कार्यादेश तोकिएको छ । सो विश्वविद्यालयमा अध्ययनका लागि निवेदन दिने हस्ताक्षरकर्ता मुलुकका विद्यार्थीले शिक्षण खर्चमा स्वतः ३० प्रतिशत छुट पाउने व्यवस्था छ ।

प्रतिक्रिया