सार्वजनिक लेखा समितिले चिनीलगायत दसैंका लागि अति आवश्यक वस्तुहरुमा गरिएको अस्वभाविक मूल्यबृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले चिनी, चामल, तेललगायतका अति आवश्यकीय वस्तुमा अस्वभाविक मूल्य बृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।
दसैंको मुखैमा अति आवश्यकीय वस्तुहरुको अस्वभाविक मूल्य बृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिनुभयो । बैठकले कालो बजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ ।
समितिले दसैंको बस टिकटमा कृत्रिम अभाव सृजना गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता व्यवसायीलाई पहिचान गरी कडा कार्वाही गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत समेत गराएको छ ।