नेपालको सबैभन्दा ठूलो र पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय टाइम्स हाइअर एजुकेशन वल्र्ड युनिभर्सिटी वरियतामा समावेश भएको छ । त्रिवि वरियतामा पहिलो पटक समावेश भएको हो । समग्र विश्वविद्यालयको वरियतामा त्रिभुवन विश्वविद्यालय ‘टाइम्स हाइअर एजुकेशन’को तालिकाको ८०१ देखि १००० को समूहमा रहेको छ । टाइम्स हाइअर एजुकेशन वल्र्ड युनिभर्सिटी वरियता वार्षिक रुपमा टाइम्स हाईअर एजुकेशन म्यागेजिनले विश्वभरीका विश्वविद्यालयको गुणस्तरको विश्लेषण र तुलना गरेर निकाल्ने वरियताक्रम हो ।
टाइम्स हाइअर एजुकेशन वल्र्ड युनिभर्सिटी वरियता लाई विश्वको तीन प्रमुख विश्वविद्यालयहरुको वरियताक्रममध्ये एक मानिन्छ । बाँकी दुईमा एकाडेमी अफ वल्ड युनिभरसिटिज’ र क्युएस वल्ड युनिभर्सिटी वरियतामा मानिन्छन् । सन् २००४ मा क्युएस सँग मिलेर टाइम्स हाइअर एजुकेशनले विश्वभरीको विश्वविद्यालयको वरियताक्रम प्रकाशित गर्न शुरु गरेको थियो । तर सन् २००९ मा यी दुई बीचको सहकार्य तोडिएपछि दुईले अलग अलग वरियताक्रम प्रकाशन गर्न थालेका हुन् ।
वेबसाइटले एक वर्ष अघिको तथ्यांकमा विश्वविद्यालयको देशभरि ६० आङ्गिक क्याम्पस र १ हजार ८४ सम्बन्धन प्राप्त गरेको क्याम्पस रहेको बताएको छ । त्यस्तै ३ लाख ५९ हजार ३ सय ७७ विद्यार्थी रहेको यो विश्वविद्यालय विद्यार्थी संङ्ख्याको आधारमा विश्वकै ११ औं ठूलो विश्वविद्यालय रहेको जनाएको छ ।
वरियताक्रममा अन्य देशका उच्च शैक्षिक संस्थाको शीर्ष स्थानमा लगातार तेस्रो वर्ष पनि ब्रिटेनको अक्सफोर्ड विश्वविश्वविद्यालय परेको छ । दोस्रो स्थानमा पनि संयुक्त अधिराज्यकै क्याम्ब्रिज विश्वविद्यालय रहेको छ । यी दुईले विश्वभरका विश्वविद्यालयहरुको वरियतामा शीर्ष स्थान लिएको भए पनि समग्र ब्रिटिस विश्वविद्यालयको अवस्था भने अघिल्लो वर्षको तुलनामा खस्केको वेबसाइटले जनाएको छ ।