गृहमन्त्री रामबहादुर थापाले विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको बताउनुभयो । मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा राख्नुभयो ।
उहाँले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषीलाई चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताउनुभयो । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिष्दमा छलफलपछि सार्वजनिक गरिने उहाँको भनाई छ । गृहमन्त्री थापाले देश टुक्राउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने पनि चेतावनी दिनुभएको छ ।