चिकित्सा शिक्षा विद्येयक कार्यान्वयनको माग गर्दै आउनुभएका शिक्षण अस्पतालका चिकित्सक प्रा. डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता लागु नगरे पुनः अनशन वस्ने चेतावनी दिनुभएको छ । चिकित्सा शिक्षा विधेयक पारित नगरी संसदको अधिबेशन अन्त्य भएकोमा पनि उहाँले गम्भीर आपत्ति जनाउनुभयो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले आफूसँग १५ औं अनशनका क्रममा सरकारले गरेका सहमति पूर्ण रुपमा कार्यान्वयन गर्न माग गर्नुभयो ।
आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनलगायत कार्यान्वयन नभए सुशासनका निम्ति कुशासन गर्नेहरुका विरुद्ध १६ औं सत्याग्रह गर्न बाध्य हुने डाक्टर केसीले चेतावनी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ग र महासचिव विष्णु पौडेलको सहभागितामा भएको सम्झौता पालना गर्न सरकार पछि हटेमा विना जानकारी १६ औं अनशन बस्ने डाक्टर केसीको भनाई थियो ।
यसअघि, पछिल्लोपछक अनशन बसेको २७ औं दिनमा सरकारले डाक्टर केसीसँग दश वर्ष उपत्यकाभित्र मेडिकल कलेज नखोल्ने गरी चिकित्सा शिक्षा विद्येयक जारी गर्नेलगायत विभिन्न बुँदामा सम्झौता गरेको दुई महिना भए पनि हालसम्म कुनै माग कार्यान्वयन भएको छैन । डाक्टर केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा बसिराख्नु शोभनिय नहुने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीकै पहलमा भएको सम्झौताविरुद्ध शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधिन रहेको विद्येयकमाथि अवरोध पु¥याएको केसीले दाबी गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र त्रिविका उपकुलपति तीर्थ खनियालाई राष्ट्रपतिबाट मानपदवी दिनुले सरकारको वास्तविक चरित्र स्पष्ट पारेको केसीले वताउनुभयो । भष्टाचारमा दोषी ठहर भई कारबाहीका लागि सिफारिस भएकालाई मानपदवी दिएर सरकारले भष्टाचारप्रति शुन्य सहनशीलता उलंघन गरेको उहाँको भनाई थियो ।