गृहमन्त्री रामबहादुर थापाले महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कारवाही गरिएको दावी गर्नुभएको छ । गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको दावी गर्नुभयो । बिहिबार महिला हिंसा न्यूनिकरण सम्बन्धी सरकारको काम कारवाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै मन्त्री थापाले बाँकी १० प्रतिशत घटनाका दोषीलाई पनि छिट्टै कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न ढिलाई नहुने समेत वताउनुभएको थियो । उहाँले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानविनमा त्रुटि गर्नेमाथि कार्वाही गरेको पनि समितिलाई जानकारी गराउनुभयो । गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैसंग आग्रह गर्नुभएको छ ।
गृहमन्त्री थापाले समिति समक्ष विगत ५ महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दावी गर्नुभयो । बैठकमा समितिका सदस्यहरुले बढ्दो महिला हिंसा नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारलाई सुझाव दिएका थिए ।
समितिकी सदस्य गंगा चौधरीले फाँसीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । बैठकमा समितिका सदस्यहरुले महिला हिंसाका दोषीलाई कार्वाहीको दायरामा ल्याउने काममा गम्भिर बन्न पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । विगत ५ महिनायता नेपालमा महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख छ ।