अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 01:10

३९ औं विश्व पर्यटन दिवसः पोखराको काँहुडाँडामा प्रवद्र्धन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:४४ मा प्रकाशित

आज ३९ औं विश्व पर्यटन दिवस । नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । टुरिजम एण्ड डिजिटल ट्रान्सफर्मेसन भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । पोखरामा पर्यटन सम्बद्ध विभिन्न संस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । पोखरा महानगरपालिका वडा नंं. ११ को आयोजनामा काहुँडाँडा दृश्यावलोकन एक गन्तव्य भन्ने नाराका साथ काहुँडाँडा प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाल संस्कृति र प्रकृतिका कारण विश्व पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो । उहाँले पर्यटन नै गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको पनि उल्लेख गर्नुभएको छ । काँहुडाँडाको विकासका लागि भ्यू टावर निर्माण, विशाल बुद्ध पार्क लगायतका संरचना निर्माणको पहल भइरहेको उहाँको भनाई थियो ।

गण्डकी प्रदेशमा जम्मा २५ हजार पर्यटक राख्न सक्ने क्षमता रहेका भन्दै त्यसलाई गुणात्मक रुपमा वृद्धि गर्न आवश्यक रहेकोमा मन्त्री लम्सालले जोड दिनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पर्यटनको लाभ स्थानीयले लिन सकेमात्र त्यसको अर्थ हुने बताएका थिए । पर्यटक सरर आएर फर्कने मात्र नभई उनीहरुलाई केही दिनका लागि रोक्न सक्ने खालका पूर्वाधार विकास हुनुपर्ने अधिकांश सहभागीको धारणा रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैनबहादुर क्षत्री, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल, पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी लगायतले पोखराको काँहुडाँडा पर्यटकीय हिसावले उत्कृष्ठ गन्तब्य बन्न सक्ने बताएका थिए । पर्यटन दिवसका अवसरमा पोखरामा हवाई मार्ग तथा सडक मार्गबाट आउने पर्यटकलाई स्वागत, मिनि सडक महोत्सव लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू