अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 21:46

राज्य व्यवस्था तथा सुशासन समितिको वैठक– गृहमन्त्री र प्रहरी प्रमुखको कार्यशैलीमाथि प्रश्न

बिआरटीनेपाल २०७५ असोज १० गते ९:४३ मा प्रकाशित

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको वैठकमा गृहमन्त्री र प्रहरी प्रमुखको कार्यशैलीप्रति प्रश्न उठाईएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा समितिको बैठकमा निम्त्याइएका गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सांसदहरुले अहिलेसम्म हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।

वैठकमा वौल्दै नेकपाका सांसद झपट रावलले नेकपाको सरकार गठन भएपछि महिला हिंसा र बलात्कारका घटना वढेको वताउनुभयो । छानबिन समितिका सदस्यले सार्वजनिक ठाउँमा गएर पत्रकार सम्मेलन गरेर छानबिनमाथि नै शंका व्यक्त गरिरहेका बेला उनलाई दण्डित गर्नुको सट्टा किन छानविन समितिमा लगियो भनी प्रश्न गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पुलिसमा पहिला पनि ३ गुट रहेको दाबी गर्दै अहिले कति गुट छ भनेर प्रश्न गर्दै नेकपाको सरकारभित्रै प्रधानमन्त्रीको र गृहमन्त्रीको छुट्टाछुट्टै गुट रहेको आरोप लगाउनुभयो । यस्ता गुटहरु रहेसम्म मुलुक सिष्टममा चल्न नसक्ने उहाँको ठहर थियो ।

सांसद विन्दा पाण्डेले प्रहरीभित्र अनुसन्धानका लागि महिला फोर्स कम छ भन्ने सुनेको भन्दै महिलाको बिषयमा महिला सम्वन्धि घटनामा अनुसन्धानका लागि महिला प्रहरी खटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जवरजस्ती करणी र एसिड आक्रमणको जघन्य घटनामा आजीवन कारावासको सजायको व्यवस्थाका लागि कानुन संशोधन गर्नुपर्ने वताउनुभयो ।

सांसद नवराज सिलवालले एउटा घटनाका विषयमा प्रधानमन्त्री स्वंयले जवाफ दिनुपर्ने अवस्था आउनु लज्जाजनक भएको टिप्प्णी गर्नुभयो । सांसद विजय सुब्बाले निर्मला पन्तको दोषीलाई जोगाउने एसपी विष्ट मात्र नभई उनको टिमपनि त्यत्तिकै खतरनाक रहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू