अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 06:45

एन्फा निर्वाचनमा विधानविपरीत आपराधिक गतिविधि भएको आरोप

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:२९ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्ववरिष्ठ उपाध्यक्ष एवं दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष मणि कुँवरले गत वैशाख २२ गते सम्पन्न एन्फाको निर्वाचनमा विधानविपरीत आपराधिक गतिविधि भएको आरोप लगाउनुभएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कुँवरले फुटबलको सर्वोच्च निकाय (फिफा)को नियमविपरीत निर्वाचन भएको भन्दै फिफा र एएफसीलाई अनुसन्धान गर्न प्रमाणसहित पत्र पठाएको जानकारी दिनुभयो ।

निर्वाचनका समयमा निर्वाचन कमिटीलाई मार्ने धम्कीसँगै आर्थिक प्रलोभनमा पारेको, मतदातालाई प्रत्यक्षरुपले पैसा बाँडेको, मतदातालाई विदेश लगेर ठूलो धनराशी खर्च गरेको कुँवरले आरोप लगाउनुभयो । कुँवरले न्यायालयलाई समेत प्रभावित पार्ने काम भएको दाबी गर्नुभयो । यस्ता गतिविधिमा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र नवीन पाण्डेलगायतको संलग्नता रहेको कुँवरको आरोप थियो ।

यसबारे आफूले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)मासमेत जानकारी गराइसकेको कुँवरले वताउनुभएको छ । निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिएका कुँवरले अन्तिम समयमा नीतिविपरीत चुनाव हुन लागेको भन्दै मैदानबाट पछि हट्नुभएको थियो । । कुँवरको प्यानलले नै चुनावमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया