अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 21:46

सरकारको अधिनायकवादी शैली विरुद्ध उत्रन देउवाको निर्देशन

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:२० मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवादी शैली विरुद्ध उत्रन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढन आव्हान गर्नुभयो । पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौंदामा सुझाव संकलनका लागि सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला आएकोले पार्टीका नेता, कार्यकर्ताहरुले विगतमा कुरामा अलमलिएर बस्न नहुने स्पष्ट पार्नुभयो ।

मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसले पार्टीको विधान पनि अत्यन्तै राम्रो बनाउनुपर्ने आवश्यकता औल्याउदै सभापति देउवाले संविधानलाई आधार बनाएर पार्टीलाई बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न पनि विधान संशोधन मस्यौंदा समितिलाई सचेत गराउनुभएको छ ।

यसैवीच, पार्टीको विधान संशोधन मस्यांैदा समितिले तयार पारेको प्रारम्भिक मस्यांैदामाथि सोमबारबाट सुझाव संकलनको काम सुरु गरिएको छ । विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन काँग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको हो । प्रदेशबाट आउने छलफलपछि त्यसलाई अन्तिम रुप दिने समितिका संयोजक एवम् काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानविन समितिलगायतका समितिहरु पनि प्रस्ताव गरिएको छ । समितिले तयार पारेको विधान संशोधन मस्यौंदालाई काँग्रेसको मंसिरमा आयोजना हुने महासमिति बैठकले आवश्यक छलफल गरी अनुमोदन गर्नेछ ।

प्रतिक्रिया