नेपाल आयल निगमले ट्याकंर चालकहरुले ढुवानी सुचारु नगरे गाडी खोस्ने चेतावनी दिएको छ । ढुवानी रोकिएसँगै पम्पहरुमा उपभोक्ताको लाइन बढ्न थालेपछि निगमले आन्दोलित चालकहरुलाई गाडी खोस्ने चेतावनी दिएको हो । मुलुकी संहिताको कतिपय प्रावधानले अन्याय पर्ने भन्दै ट्याकंर चालकहरुले आन्दोलित भएपछि पछिल्लो दुई दिनदेखि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ ।
ट्याङ्कर चालकहरु आन्दोलित भएपछि मुलुकभर पेट्रोल पम्पमा लाइन देखिन थालेको छ । नेपाल आयल निगममा पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ढुवानीकर्ता तथा चालकले अवरोध गरेपछि उपभोक्तामा हाहाकार मच्चिने त्रास बढेको हो । नेपाल आयल निगमका प्रमुख सुशील भट्टराईले आन्दोलनरत पक्षसँग स्थानीय स्तरमा छलफल भइरहेको वताउनुभएको छ । निगमले पटक पटक ट्याकंर चालकहरुको माग सम्बोधन गरेको भन्दै उहाँले अहिलेको परिस्थिति निगमले मात्रै समाधान गर्न सक्ने अवस्थाको नरहेको वताउनुभयो ।
मुलुकी संहिताका कतिपय प्रावधानले अन्याय पर्ने भन्दै देशभरका सवारी चालकहरु त्यसको संशोधन माग राख्दै आन्दोलित भइरहेका बेला निगम सम्बद्ध ढुवानीकर्ताहरुले पनि पेट्रोलियम पदार्थ बोक्न छाडेका छन् । पछिल्लो तीन दिनदेखि ट्याङ्कर चालकहरुले रक्सौल डिपोबाट तेल ढुवानी गरेका छैनन् । निगमसँग सम्झौता गरेका ट्यांकरका चालकहरुले यसअघि पनि तलब–भत्ता वृद्धि, सञ्चयकोष, ट्रिप भत्ता लगायत माग राखेर आपूर्ति ठप्प पारेका थिए । आपूर्ति ठप्प पारेपछि निगमले चालकका त्यस्ता मागहरु पूरा गरिदिएको थियो ।
तर, असोज २ गतेदेखि आन्दोलित चालकहरुलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले पुनः ढुवानी ठप्प पारेका छन् । निगमका अनुसार आन्दोलित चालकहरुले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्नेलगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् । निगमले चालकहरुका मागहरु पूरा गरिसकेको सन्दर्भमा पुनः ठप्प पार्नु गम्भीर भएको भन्दै नियमित काममा फर्कन ढुवानीकर्ता तथा चालकहरूसँग आग्रह गरेको छ । निगमले विज्ञप्ति जारी गर्दै सम्झौताअनुसार काम नगरे सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएको छ ।