अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

प्रतिनीधि सभा वैठक– महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव पारित 

बिआरटीनेपाल २०७५ भदौ ८ गते ९:२१ मा प्रकाशित

संसद वैठकले महिला हिंसा विरुद्धको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । शुक्रवार वसेको प्रतिनीधि सभा वैठकले प्रस्ताव पास गरेको हो । सांसदहरु विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैनाकुमारी भण्डारी, पार्वतीकुमारी विशुंखे, बिनाकुमारी श्रेष्ठ, लक्ष्मीकुमारी चौधरी, नवराज रावत, तुल्सी थापा, अमृता थापालगायत २२ सांसदले संसदमा उक्त प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि, नेपालको संविधान बमोजिम महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्धको महासन्धि लगायत अन्तर्राष्ट्रिय अभिसन्धिले शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक एवं अन्य कुनै किसिमको हिंसाजन्यकार्य वा शोषणलाई दण्डनीय भनेकाले महिलामाथि हुने जघन्य अपराध (हत्या, बलात्कार, बोक्सी, आरोपमा उत्पीडन, छाउपडी, यौनजन्य हिंसा, घरेलु हिंसा, दाइजोको निहुँमा हुने कुटपिट) बाट पीडितलाई उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै त्रुटिपूर्ण सामाजिक मूल्य मान्यता, प्रथा परम्परा, अन्धविश्वास, शोषणविरुद्ध व्यापक जनचेतना अभियान चलाइ सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस् भन्ने सङ्कल्प प्रस्ताव प्रस्तुत भएको थियो ।

यसैवीच, सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले वर्तमान सरकार महिला हिंसालाई पूर्णरुपमा अन्त्य गर्न प्रयासरत रहेको वताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्तावमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सामाजिक सुधार र जनचेतनाको अभिवृद्धिमासमेत जोड दिइएको जानकारी गराउनुभयो ।

समाजमा सबैभन्दा कमजोर वर्ग समस्यामा पर्ने गरेको भन्दै मन्त्री थापाले कञ्चनपुरको बलात्कार प्रकरणका दोषीलाई कानूनअनुसार कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । महिला हिंसा, सामाजिक विभेद् जस्ता कुरीतिका विरुद्ध सरकारले समयानुकूल कानून निर्माण गर्दै कार्यान्वयनमा ल्याइरहेको र केही कानून निर्माणको क्रममा रहेको समेत मन्त्री थापाको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नै महिला हिंसामा जोडिएका कोही कसैलाई पनि छुट नदिन कडा निर्देशन दिएको स्मरण गर्दै मन्त्री थापाले संविधान र कानून कार्यान्वयनका लागि देशव्यापी जनचेतना बढाउन पनि पहल गरिएको स्पष्ट पार्नुभयो ।

महिला हिंसा विरुद्ध प्रस्तुत भएको सङ्कल्प प्रस्तावमाथि बोल्दै सांसद आशाकुमारी विकले छोरी जन्माउँदा सम्मान गर्ने संस्कृतिको विकास गर्न माग गर्नुभयो । छोरा जन्मिँदा खुशी हुने र छोरी जन्मदा नाक खुम्च्याउने सामाजिक परिवेशले नै महिला हिंसा बढाएको उहाँको भनाइ थियो । संघीय संसद्को पहिलो अधिवेशनमा नै दर्ता गराएको प्रस्ताव ढिलै भए पनि छलफलमा आएको भन्दै सांसद शशी श्रेष्ठले सामाजिक जागरण नचलाइकन कुनै पनि हिंसाको अन्त्य नहुने भएकाले कडा कानून जरुरी रहेको आवश्यकता औल्याउनुभयो ।

सांसद शान्ता चौधरीले सर्वदलीय संसदीय विशेष समिति बनाएर देशव्यापी रुपमा अनुगमन गर्न र दोषीलाई कारवाही गर्ने वातावरण बनाउन माग गर्नुभयो । वैठकमा वोल्दै सांसद महेश्वर गहतराज, रङ्गमति शाही, डा सूर्य पाठकले कमजोर कानूनको फाइदा उठाएर महिला हिंसा बढेको, आर्थिक विभेद् र असमानता पनि त्यसको प्रमुख कारण रहेको उल्लेख गर्नुभयो । सांसद जुलीकुमारी महतोले महिला हिंसा अन्त्यको लागि विद्यालय तहबाटै पठनपाठनको व्यवस्था गर्नुपर्ने र सामाजिक सुधारको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद नवीना लामाले सामाजिक न्याय र समानताका लागि हिंसामुक्त समाज निर्माण तर्फ ध्यान दिनुपर्ने वताउनुभयो ।

सांसद शान्तिमाया तामाङले महिला हिंसालाई जघन्य अपराधको रुपमा लिई दोषीलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । महिला हिंसाले सभ्य समाजलाई लज्जित बनाएको उल्लेख गर्दै सांसद गोमा देवकोटाले सामाजिक रुपमा समान नहुँदासम्म समस्या दोहोरिइरहने उल्लेख गर्नुभयो । संविधानले महिलालाई अंश र वंशमा समान अधिकार दिएको भए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै सांसद शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्डसम्मको कानून बनाउन पाउने गरी संयुक्त राष्ट्र सङ्घमा जानकारी (प्रोटेस्ट) गराउनुपर्नेमा जोड दिनुभयो । वैठकमा सांसदहरु नवराज रावत, नरबहादुर धामी, मीना सुब्बा, सञ्जयकुमार गौतम, विष्णु शर्मा, हितबहादुर तामाङ, रङ्गलाल रोका क्षत्री, कुमारी मेचे लगायतकाले महिला हिंसा घटाउन सामाजिक, आर्थिक रुपमा नै सशक्तिकरण आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय