अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

उत्तर कोरियाले अझै आणविक हतियार बनाइरहेको छ – संयुक्त राष्ट्रसंघ

बिआरटीनेपाल २०७५ साउन १९ गते ७:४४ मा प्रकाशित

उत्तर कोरियाले अझै पनि आणविक र क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गरिरहेको राष्ट्रसंघ सुरक्षा परिषदको एक प्रतिवेदन सार्वजनिक भएको छ । सार्वजनिक प्रतिवदेनअनुसार प्योङयाङले अवैध रुपमा जहाजबाट जहाजमै तेल स्थानान्तरण गरिरहेको छ र आफूले बनाएका हतियारहरु अन्य देशलाई बेच्न खोजेको छ ।

स्वतन्त्र विज्ञहरुले तयार पारेको भनिएको गोप्य प्रतिवेदन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई शुक्रबार बुझाइएको थियो । उत्तर कोरियाले भने हालसम्म प्रतिवेदनमाथि कुनै प्रतिक्रिया जनाएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा भएको शिखर वार्तामा निशस्त्रीकरणका लागि काम गर्ने सहमति भएको थियो । तर, प्योङयाङले गोप्य रुपमा नयाँ व्यालेस्टिक मिसाइल बनाइरहेको अमेरिकी अधिकारीहरुको पनि दाबी छ ।

उत्तर कोरियामा अमेरिकी प्रतिवन्धको कार्यान्वयनलाई निगरानी गरिरहेका विज्ञहरुले राष्ट्रसंघको प्रतिवेदन तयार पारेको जनाईएको छ । प्रतिवेदनमा भनिएको छ – ‘उत्तर कोरियाले आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई अझै पनि रोकेको छैन । सन् २०१८ मा अवैध रुपमा जहाजहरुबाट ठूलो परिणाममा पेट्रोलियम पदार्थ र कोइलाको स्थानान्तरण गरेर सुरक्षा परिषदको संकल्पलाई चुनौती दिइरहेको छ ।’

साथै ‘प्योङयाङले विदेशी बिचौलियाहरुमार्फत साना र हलुका हतियार, सैन्य सामग्रीहरु लिबिया, सुडान र यमन जस्ता देशहरुलाई बेच्ने प्रयास गरेको’ प्रतिवेदनमा उल्लेख छ । उत्तर कोरियाको क्रियाकलापहरुले आर्थिक प्रतिबन्धहरु निश्प्रभावी भएको विज्ञहरुको निष्कर्ष रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू