सानफ्रान्सिस्को, पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्बोधन गर्दै नेपाली सधैँ नेपाली नै हुन्छ भूतपूर्व वा वर्तमान भन्ने हुँदैन भन्नुभएको छ । गैर आवासीय नेपाली सङ्घ र एनआरएनए अमेरिका व्दारा आयोजित विज्ञ सम्मेलनको शनिवार उद्धाटन समारोहमा सम्बोधन गर्दै मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिनुभएको हो ।
हामी नेपाली जहाँ वसेपनि नेपाली नै हौँ मन्त्री अधिकारीले भन्नुभयो- “देश बनाउने क्षमता नेपालकोले मात्र पुग्दैन गैर आवासीय नेपालीहरूको सहयोग र सकृयता पनि चाहिन्छ । अव तपाईँ यता (विदेश) र उता (नेपाल) बस्ने सबै नेपाली हातेमालो गरेर अगाडि बढ्ने हो । तपाइहरू सबै धनी र सम्पन्न हुनु भयो भने पनि देश सम्पन्न हुन सकेन भने सुखी र खुसी हुन सक्नुहुन्न । त्यसैले देशलाई समृद्ध बनाउने काममा हामी सबै लाग्नु जरुरी छ ।”
वर्तमान सरकारकै एक जना मन्त्रीले केही समय अघि विदेशमा स्थायी रूपमा बस्ने नेपालीलाई भूतपूर्व नेपाली हुन भनेको विषयप्रति अमेरिकाका नेपालीहरूले आक्रोस व्यक्त गर्दै मन्त्री अधिकारीलाई यसबारेमा प्रश्न उठाएका थिए । यही क्रममा मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिनुभएको हो ।
सरकारले विदेशमा बस्ने नेपालीको दक्षता र दक्षतालाई राम्रो सँग बुझेको छ मन्त्री अधिकारीले भन्नुभयो हामी संविधानमा उल्लिखित एनआरएन नागरिकता दिने प्रावधान प्रति प्रतिबद्ध छौँ यो आउने वर्ष भित्र आवश्यक कानुन तयार भएर आउँछ ।
उहाँले सरकार एनआरएनलाई साथ लिएर हिँड्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा बस्ने नेपालीलाई पूर्व नेपाली भनेकोमा आपत्ति जनाउँदै सरकारको धारणा राख्न भनेका थिए । सहभागीहरूले पनि यस विषयमा बोल्न मन्त्री अधिकारीलाई आग्रह गरेका थिए ।
पूर्व परराष्ट्र तथा अर्थ मन्त्री डा प्रकाशचन्द्र लोहनीले एनआरएनलाई कुन प्रक्रियाबाट उपयोग गर्ने यो स्पष्ट गरेर जाँदा नेपाललाई फाइदा हुने बताउनुभयो । पूर्व मन्त्री डा लोहनीले देशको स्वतन्त्रता, नेपालमा भएका मानवअधिकारका हनन जस्ता विषयमा पनि आवाज उठाएर विदेशमा बस्ने नेपालीले विगतमा पनि दबाब दिँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने बताउनु भयो ।
पूर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसालले नेपाली कुनै पद होइन जुन पूर्व र वर्तमान हुन सकोस् यो त भावना र संस्कृति भएकाले कानुनी जस्तो हैसियत फेरिने कुरै होइन भन्नुभयो ।
अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले सम्बोधनका क्रममा आफू अमेरिकाको अस्थायी राजदूत भएको तर यहाँ बस्ने गैर आवासीय नेपालीहरू स्थायी राजदूत भएको बताउनु भयो । उहाँले नेपालीहरूले विभिन्न देशको विकास र समृद्धिमा योगदान दिइरहनु भएको छ भने नेपालको समृद्धिमा योगदान दिन सक्ने कुरामा कुनै शङ्का छैन भन्नु भयो ।
एनआरएनएका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावना अनुसार बढ्ने वेला भएको बताउँदै यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरूमा एनआरएनएलाई सहभागी गराएर गरेको हामीले अनुभूति गरेका छौँ भन्नुभयो । उहाँले अगाडि भन्नुभयो – नेपाल समृद्धि तर्फ अघि बढिरहेको छ यसमा हामी विदेशमा बस्नेहरुले पनि आफ्नो भूमिका खोजेर सहयोगी बन्नु पर्छ । नेपाललाई समृद्ध बनाउन देशभित्रको स्रोत साधनले मात्रै पुग्दैन त्यसैले बाहिरको प्रविधि र स्रोत साधन भित्र्याउन सक्नु पर्छ । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि धेरै देशहरूसँग व्दैध कर सम्झौता लगायतका सन्धिहरू गर्नु आवश्यक छ ।
राज्यको जिम्मेवार व्यक्तिबाट गैर आवासीय नेपाली प्रति लक्ष्यित अभिव्यक्ति नआएको भए हुन्थ्यो एनआरएनएका पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेले भन्नुभयो तर, एक जना मन्त्रीबाटै यस्तो अभिव्यक्ति आयो भनेर चिन्ता पनि नगर्नु होला । हामीलाई संविधानले नै हाम्रा हक अधिकारको संरक्षण गरेको छ ।
कार्यक्रममा प्रवासी नेपाली मञ्चका कृष्ण लामिछाने जनसम्पर्क समिति अमेरिकाका विष्णु सुवेदी एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले अमेरिकाका उपाध्यक्ष उमाकान्ति थापाले पनि सम्बोधन गर्नु भएको थियो भने अमेरिकाजका क्षेत्रीय संयोजक गौरी जोशीको सभापतित्वमा भएको उद्घाटन समारोहमा अमेरिकाका अध्यक्ष डा केशव पौडेलले स्वागत र आइसिसि सदस्य डिल्ली भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
शनिवार दिनभर विभिन्न विषयका ३० जना विज्ञले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक क्षेत्र लगायतका विषयमा विदेशमा बसेर प्राप्त ज्ञानलाई कार्यपत्रका रूपमा प्रस्तुत गर्नु भएको थियो । नेपालले विदेशका नेपालीहरूले आर्जित यी दक्षता र क्षमतालाई कसरी नेपालीमा लैजान सकिन्छ यस विषयमा छलफलहरू भएका थिए ।
विज्ञ भेला शनिवार समाप्त हुन्छ । आइतबार एनआरएनए अमेरिकाको सातौँ वार्षिक साधारण सभा हुने छ ।