अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 15:02

प्रधानमन्त्री देखि सर्वसाधारण समेत रमाए रामेशको गीतमा

डब्बु क्षेत्री, काठमाडौँ २०७५ जेठ २० गते ९:१२ मा प्रकाशित

गणतन्त्र दिवसको अवसरमा शनिवार सांस्कृतिक संस्थान ‘राष्ट्रिय नाचघर’ले आयोजना गरेको जन गायक रामेश श्रेष्ठको एकल गायन ‘युगिन आवाज’मा रामेशले १५ ओटा गीतहरू गाउँदै प्रधानमन्त्री केपी शर्मा ओली देखि सबैलाई मन्त्रमुग्ध परेका छन् ।

उमेरले ७४ वर्ष पुगेका रामेशले पाँच दशक भन्दा लामो समयदेखि नेपाली सङ्गीतमा पुर्‍याउने योगदानको कदर गर्दै सांस्कृतिक संस्थान र सार्थक जनसंगीत प्रतिष्ठानले यो एकल साँझको आयोजना गरेको हो ।

नेपाली सङ्गीत क्षेत्रमा पाँच दशक भन्दा लामो समयदेखि निरन्तरता दिँदै सामाजिक, राजनीतिक रूपान्तरणमा रामेशले पु¥याएको योगदानको कदरस्वरुप उनलाई संस्कृति मन्त्रालय (सांस्कृतिक संस्थान)का तर्फबाट अभिनन्दन गरियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामेशलाई कार्यक्रममा अभिनन्दन गरे । प्रधानमन्त्री ओलीसँगै, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भौती पूर्वाधार तथा यातायात रघुबीर महासेठ, संस्कृति मन्त्री रबीन्द्र अधिकारीसम्मले रामेशलाई अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०३० सालताका रामेश, रायनहरुले आफ्ना गीतसँगीत लोकतन्त्रका लागि जनजागरण ल्याएको स्मरण गर्दै भने,‘म जेल पर्दासमेत रामेश, रायनका गीतले एक दिन हामी जित्नेछौँ भन्ने आशा जगाउँथ्यो । नभन्दै आज हामीले जित्यो र अब उहाँहरूको गीतमा भनिएझैँ देशलाई समृद्ध बनाउनु छ ।’ नेपाली राजनीतिक आन्दोलनमा रामेश, रायन सहित राल्फाको साङ्गीतिक आन्दोलनको महत्वपूण योगदान रहेको पनि प्रधानमन्त्री ओलीले बताए । जनगायक रायनलाई आफूले अनिनन्दन प्रदान गरे पनि यो अभिनन्दन सम्पूर्ण जनताहरूको भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

करिब तीन घण्टाको बसाइमा आफ्नो एकल साँझमा गायक रामेशले १५ ओटा आफ्ना नयाँ पुराना गीतहरू सुनाए । उनले हरेक गीत प्रस्तुत गर्दा त्यो गीतको सृजना पृष्ठभूमि र गीतको महत्त्व तथा त्यसले ल्याएको परिवर्तनबो चर्चा गरे । उनले यसरी गीतसँगै त्यो गीतको उजना र त्यसको भावलाई प्रस्तुत गर्दा कार्यक्रममा दर्शकलाई गीतसँगै गीतिकथा सुनेको महसुस भएको थियो ।

रामेशलाई प्रत्यक्ष गायनमा उनका साथी रायनले पनि साथ दिए । युगिन आवाज एकल साँझमा रामेशले हिमगिरी मण्डित…, तिमी देऊ तिम्रा हातहरू…, मेरो देश खोज्दै जाँदा…, ओ जनता महान्…, ऋतु गीत…, आर्यशिल जिन्दगी…, ओलाङचुङगोला…, मेरो प्यारो ओखलढुँगा… प्रस्तुत गरे । यस्तै भोकै मर्ने महाकविका…, रोक्ने को हो दूरदर्शी…, कामी जित्ने छौँ…, पूर्वबाट उदायो…, कति राम्रो छ नेपालीको मन…, एकले थुकी…सहित कार्यक्रमको अन्त्यमा गाउँ गाउँबाट उठ…गाएका थिए ।

उमेरले ७४ वर्ष पुगेका गायक रामेशले तीन घण्टा उभिएर युवा जोसमा आफ्ना १५ ओटा गीत सो कार्यक्रममा निरन्तर प्रस्तुत गरे । उनले हरेक कार्यक्रममा मन्त्री, नेता देखि सर्वसाधारणसम्मले तालीले साथ दिएका थिए । राष्ट्रिय नाचघरको प्रेक्षालयमा रामेशको कार्यक्रम हेर्न पुगेका दर्शकहरू नअटेपछि हल बाहिर दर्शकलाई प्रत्यक्ष प्रसारण गरिएको थियो ।

सम्बन्धित सामग्रीहरू