अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

नीति तथा कार्यक्रम असल निबन्ध: प्रतिपक्षि दल

बिआरटीनेपाल २०७५ जेठ ७ गते ९:२४ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आव २०७५÷७६ को नीति तथा कार्याक्रमलाई असल निबन्धको संज्ञा दिएको छ ।

राष्ट्र विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा आज प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै काँग्रेसका नेता महामन्त्री डा। शंशाक कोइरालाले नीति तथा कार्यक्रमले स्पष्ट मार्गदिशा नदिएको र प्राथमिकता कार्यान्वयनको स्पष्ट खाका नदेखाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रम असल निबन्धको रूपमा आएको छ ।”

सोही पार्टीका नेता प्रदीप गिरीले नीति तथा कार्यक्रमले मुलुकको अहिलेको प्राथमिकता र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताउँदै श्रम समस्या सम्बोधन गर्ने स्पष्ट खाका नभएको र धेरै पृष्ठ र पुरानै शैलीको देखिएको टिप्पणी गर्नुभयो ।

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले समग्रमा नीति तथा कार्यक्रमलाई आफूले सकारात्मक रूपमै ग्रहण गरे पनि दुई अङ्कको आर्थिक वृद्धिदर प्राप्त गर्ने आधार नदेखिएको धारणा व्यक्त गर्नुभयो । सङ्घीयताका विषयमा नीति तथा कार्यक्रममा आवश्यक जोड नपुगेको तथा संविधान संशोधन गरेर पूर्णता दिने विषय नमेटिएको प्रतिक्रिया उहाँले दिनुभयो ।

सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले सरकारको विकास र समृद्धिको नारालाई मूर्तरुप दिन नीति तथा कार्यक्रमलाई गाउँतहसम्म कार्यान्वयन गरेर लैजानुपर्छ भन्नुभयो ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले मुलुकको प्राथमिकताको कार्यसूची र पूर्वाधारलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम समग्रमा सन्तुलित नै रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “धेरै कार्यक्रमले निरन्तरता पाएको छ, केही दृष्टिकोणका कुरा समेटिएको छ, निजी क्षेत्रलाई भने आवश्यक रूपमा विश्वासमा लिने कार्यक्रम कम देखिएको छ ।”

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरसर्ती हेर्दा नीति तथा कार्यक्रममा सबै कुरा आएको देखिए पनि कार्यान्वयनले नै सबै कुरा निर्धारण गर्ने उल्लेख गर्दै संविधान संशोधनको विषय नीति तथा कार्यक्रममा नदेखिनुले यो पूर्ण नभएको टिप्पणी गर्नुभयो । सोही पार्टीका नेता लक्ष्मणलाल कर्णले तराई–मधेसका आवश्यकता र विगतका आन्दोलनसँग जोडिएका मुद्दा फिर्तासम्बन्धी विषय लामो दस्ताबेजमा नपर्नु दुर्भाग्य भएको बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका नेता हरिनायण रौनियारले मधेसको प्राथमिकता र संविधान संशोधनको विषय नसमेटिएको तथा नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको प्रतिक्रिया दिनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नीति तथा कार्यक्रमले समग्रमा विषयलाई समेटेको हुँदा कार्यान्वयनमा निजी क्षेत्रबाट सकारात्मक ढङ्गबाट पूर्ण सहयोग हुने बताउनुभयो । “नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा, रोजगारी, प्रतिव्यक्ति आय ५ वर्षमा दोब्बर बनाउने लगायत विषयलाई समावेश गरिएको छ, जुन आफैँमा सकारात्मक छ ”, अध्यक्ष शर्माले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय