अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 09:57

नेपाल डे परेड र फिप्ना नेतृत्वको वैचारिक स्खलन:

लोकमणि राई २०७५ जेठ ५ गते १०:४९ मा प्रकाशित

उपलब्ध सङ्घीय प्रणालीको मोटामोटी २ प्रकारको चरित्र छन्: ‘कमिङ टुगेदर’ र ‘होल्डिङ टुगेदर’ । स्वार्थ र उद्देश्य मिल्ने राष्ट्र/राज्य (नेशन/स्टेट) हरू एक ठाउँमा आएर सङ्घीयताको अभ्यास गर्नु कमिङ टुगेदर हो । जस्तो, बेलायती साम्राज्यवादबाट स्वतन्त्र भएपछि अमेरिकाका तत्कालीन १३ राज्यहरू सँगै बस्ने निर्णय गरे । युरोपियन युनियनको सैद्धान्तिक आधार पनि कमिङ टुगेदर नै हो । यही अवधारणा अनुरूप युरो जोन र युरोपियन पार्लियामेन्ट लगायतका अवयव पनि विकास गरिसकिएको छ । यद्यपि युरोपियन युनियनको सफलता/असफलता भविष्यको गर्भमा छ ।

होल्डिङ टुगेदर चरित्रको सङ्घीयतामा लामो कालखण्डदेखि विभिन्न राष्ट्र (नेशन) सँगै बसेका हुन्छन् । त्यसरी सँगै बसेका तर विभेदमा परेका राष्ट्रले देशको मूलप्रवाहमा पुग्न माग गर्ने सबैभन्दा भरपर्दो साधन हो सङ्घीयता । सङ्घीयता प्राप्त नभए त्यस्ता राष्ट्र आत्मनिर्णयको अधिकार माग गर्दै छुट्टिने बाटोमा पुग्छन् । त्यस्ता राष्ट्रलाई एक ठाउँमा राखी देश टुक्रिन नदिन अपनाइने हालसम्मको महत्वपूण विधि पनि सङ्घीयता नै हो । भारतजस्ता कतिपय देश भने अर्धसंघात्मक प्रणाली आवलम्वन गरी मुख्य रूपमा भाषामा आधारित विभिन्न राष्ट्रलाई सँगै राख्न सफल देखिन्छ । यस्तो चरित्रको सङ्घीयता (भारतका सवालमा अर्धसंघीयता) लाई होल्डिङ टुगेदर भनिन्छ ।

सङ्घीयताको मुख्य वैचारिक धरातल स्वायत्त शासन, स्वतन्त्रता, शक्ति बिकेन्द्रिकरण र कतिपय अवस्थामा आत्म निर्णयको अधिकार हो । कमिङ टुगेदर प्रकृतिको सङ्घीयतामा आत्मनिर्णयको अधिकार ‘बाइ डिफल्ट’ हुन्छ । पूर्व सोभयित सङ्घ र युरोपियन युनियन यसका उदाहरण हुन् । आत्मनिर्णयको अधिकारकै कारण सोभियत सङ्घ विघटन भयो । युरोपियन युनियनबाट बेलायत बाहिरियो । अमेरिकामा चाहिँ कुनै पनि राज्यले आत्मनिर्णयको अधिकार प्रयोग गर्ने अवस्था नआओस भन्ने चेतनाका साथ कानुनी संरचना विकास गरिएको छ । यसका हरेक राज्य आआफ्नै छुट्टै विधान, कानुन र नियम अनुसार चल्छन् । यी राज्यहरू कतिसम्म स्वायत्त छन् भने क्यालिफोर्निया र न्यू योर्कले आप्रवासीका सवालमा ट्रम्प प्रशासनको कतिपय निर्णय पाखा लगाइदिए ।

ट्रम्प प्रशासनसँग त्यसलाई स्वीकार्नुको विकल्प रहेन । कमिङ टुगेदर प्रकृतिको सङ्घीयताको सैद्धान्तिक विशिष्टता भनेकै के हो भने यस्तो सङ्घीयतामा सहभागी कुनै पनि राष्ट्र/राज्यलाई केन्द्रले लाटो लगाउन सक्दैन । जे काम पनि सहमतिमा मात्र हुन्छ । त्यही भएर सङ्घीय प्रणाली हालसम्मकै सबैभन्दा प्रजातान्त्रिक व्यवस्था मानिन्छ । तर, देशले अभ्यास गर्ने होल्डिङ टुगेदर प्रकृतिको सङ्घीयतामा केन्द्रले राजनीतिक मूलप्रवाहिकरणमा सामेल हुन वा आत्मनिर्णयको अधिकार प्रयोग गरी छुट्टिन विद्रोह गर्ने राष्ट्र÷राज्यलाई ‘होल्ड’ गर्न कतिपय अवस्थामा शक्तिसमेत प्रयोग नाजायज मानिँदैन । सङ्घीयता पनि सङ्घर्षबाट स्थापित गरिएको हुन्छ ।

उपलब्धमध्ये सबैभन्दा प्रजातान्त्रिक भएकाले संघ/संस्थाहरुले पनि सङ्घीय प्रणाली अभ्यासको सिको गरेका हुन् । नेपालमा त यसको अभ्यास २०४५ पछिमात्र भएको हो । आदिवासी जनजाति महासङ्घ, उद्योग वाणिज्य महासङ्घ, नेपाल पत्रकार महासङ्घ, अन्तर्राष्ट्रिय पत्रकार महासघ, नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका सङ्घीय प्रणाली अपनाउने संघ÷संस्थाका केही उदाहरण हुन् । संघ÷संस्था होस या देश, सङ्घीयताको आधारभूत सिद्धान्त एउटै हो । तर, देशले आवलम्वन गर्ने सङ्घीय प्रणाली र संघ÷संस्थाले आवलम्वन गर्ने सङ्घीय प्रणालीमा एउटा महत्त्वपूर्ण चारित्रिक विभेद भने छ । त्यो भनेको संघ÷संस्थाले कमिङ टुगेदर प्रकृतिको सङ्घीय प्रणाली मात्र आवलम्वन गर्न सक्नु हो । अर्थात्, संघ÷संस्थामा होल्डिङ टुगेदर प्रकृतिको सङ्घीयता नहुनु हो ।

बाइ डिफल्ट आत्मनिर्णयको अधिकार हुने भएकाले कमिङ टुगेदर सङ्घीय प्रणालीमा हरेक काम सहमतिमा मात्र हुन सक्छ । केन्द्रले शक्ति प्रयोग गरेर सङ्घका कुनै पनि सदस्यलाई तर्साउन सक्दैन । हुँदैन । त्यसो गरे त्यो सैद्धान्तिक विचलन हुन्छ । वर्तमान फिप्ना नेतृत्वमा त्यो सैद्धान्तिक विचलन देखियो । प्रथमत, फिप्ना नेतृत्वले नेपाल डे परेडमा सहभागी हुने स्वायत्त सदस्य संस्था ‘अप्ठ्यारो पर्ने’ चेतावनी दियो । यसअघि दुई पटक फिप्नाको अगुवाइमा नेपाल डे परेड भएको थियो । आफ्नो अगुवाइमा नेपाल डे परेड भए ठिक नभए बेठिक भन्ने फिप्ना नेतृत्वको वैचारिक स्तर कुन तहको छ भन्ने बुझ्न गाह्रो छैन ।

दोस्रो, नेपाल डे परेड असफल बनाउन विभिन्न जातीय, क्षेत्रीय र धार्मिक संस्थासँग गुटबन्दी गर्‍यो । गुटबन्दी गरिएका केही संस्थाको कानुनी हैसियत समेत छैन । कानुनी हैसियत नभएको संस्थासँग राम्रो उद्देश्य राखेर काम गर्नुसमेत गम्भीर कुरा हो । फिप्ना नेतृत्वले त गुटबन्दी नै गर्‍यो । गुटबन्दी कमजोरको हतियार हो ।

तेस्रो, फिप्ना नेतृत्वले नेपाल डे परेड र आर्थिक पारदर्शिताको कुरा मिसाएर आफ्ना सदस्य संस्थालाई दिग्भ्रमित गर्‍यो । नेपाल डे परेडको हिसाब किताब नदेखाउने फिप्नाका पूर्व पदाधिकारीलाई कारबाही गर्नु/नगर्नु र नेपाल डे परेड गर्नु/नगर्नु एउटै कुरा होइन । नेपाल डे परेडको आर्थिक पाटो छानबिन गर्ने एउटा छुट्टै पक्ष हो । नेपाल डे परेड गर्ने अर्को छुट्टै पक्ष हो । यी दुवै काम समानान्तर रूपमा हुन सक्छन् । एउटा काम नभए अर्को हुन सक्दैन भन्ने होइन ।

मुख्य प्रश्न नेपाल डे परेड गर्ने कि नगर्ने भन्ने नै हो । हिसाब किताब नबुझाएसम्म गर्ने कि नगर्ने वा व्यापारिक संस्थाबाट गर्ने कि सामाजिक संस्थाबाट भन्ने तपसिलका विषय हुन् । यति बेला फिप्ना नेतृत्वले ‘पहिला नेपाल डे परेड सकौँ, त्यसपछि पहिलाको हिसाब किताब कानुनी रूपमा खोजौँला’ भनेर किन भन्न सक्दैन ? त्यसो भन्दा र गर्दा न धर्ती पल्टिन्छ न आकाश खस्छ । नेपाल डे परेड व्यापार हुन सक्दैन भने त्यसलाई रोक्दा मात्र ‘सामाजिक काम’ मा रूपान्तरण गर्न सकिने ढोका खुला रहने हो ? होइन भने नेपाल र नेपालीको पहिचान र प्रतिष्ठासँग जोडिएको नेपाल डे परेड विरुद्ध फिप्ना किन लागेको ? भाषाका कारण जनजिब्रोमा बसेका कतिपय उखान सबैठाउँमा प्रयोगयोग्य छैनन् । तर, यहाँ भन्नै पर्ने हुन्छ के हलो अड्काएर गोरु कुट्न खोजेको ?

प्रश्न अरुपनि छन् । के फिप्ना नेपाल डे परेड गर्न भनेर गठन भएको संस्था हो ? होइन भने किन यत्रो रोइला ? संयुक्त राष्ट्रसंघबाट आदिवासी जनताताका लागि गरिएको कार्यक्रम गैर आदिवासी जनजाति राजदूतले बाइपास गरिदिँदा चूँ बोल्न नसक्ने फिप्नाको के छोड्नै नसकिने मुद्दा हो नेपाल डे परेड ? फिप्नाका लागि नेपाल डे परेड एउटा फोरम भने हो जहाँ उसले विभिन्न जातजातिको पहिचान प्रदर्शन गर्न र नेपालको नाम उँचो बनाउन सक्छ । यस्तो फोरमविरुद्ध गुटबन्दी गर्ने फिप्ना नेतृत्वको पहिचानवादी र नेपाल प्रेमी छविमा प्रश्न गर्ने कि नगर्ने ?
यति बेला फिप्ना नेतृत्व ‘इगो’ बाट परिचालित छ, विचार, दर्शन र सिद्धान्तका आधारमा होइन । इगोबाट चल्नेको नियति र नतिजा अनुमान गर्न सकिन्छ ।

इगोको आगो झोस्ने काम फिप्नाको पूर्व नेतृत्वले नै गरेका हुन् जसलाई वर्तमान नेतृत्वले ‘गद्धार’ घोषणा गरेको छ । फिप्नाको पूर्व नेतृत्व तिनै हुन् जसले नेपाल डे परेड ‘फिप्नाको अगुवाइमा हुने फिप्नाको सिग्नेचर प्रोग्राम’ भनेर सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्थे । तर, फिप्नाको नेतृत्वमै छँदा उनले आफु सहित ३ जना व्यक्तिका नाममा नेपाल डे परेड इंक दर्ता गरेर ‘फिप्नाको सिग्नेचर प्रोग्राम’ फिप्नासँगै खोसे । फिप्नाको नाममा नेपाल डे परेडको खाता खोले तर, हिसाब किताब देखाएनन् । यस्तो काम गर्न सक्ने उनी तिनै व्यक्ति हुन् जसको नेतृत्वमा रहेको फिप्ना कार्य समितिले आफ्नै महासचिवलाई नैतिकताको कारबाही गर्ने प्रक्रिया सुरु गर्न स्पष्टीकरण सोधेको थियो । यस्तो व्यक्तिका नाममा नेपाल र नेपालीको पहिचान र प्रतिष्ठासँग जोडिएको नेपाल परेड डे रहनु हुँदैन भन्ने सरोकारवाला सबैले बुझ्नुपर्छ ।

भव्य नहोला, नेपाल डे परेड हुन्छ । आठ हजार होइन ८० जना उपस्थित होलान्, नेपाल डे परेड हुन्छ । दुई वटा झाँकी पनि मुस्किलले प्रस्तुत होला, नेपाल डे परेड हुन्छ । परेड उपस्थितिका हिसाब प्रहसन जस्तो देखिएला, नेपाल डे परेड हुन्छ । त्यसको भोलिपल्ट मौन बस्नेहरु त उम्केलान, नेपाल डे परेड विरोधीले आफुलाई कसरी नेपाली भनेर चिनाउलान ?