हिमाल–सफाइ नै उनको जीवनको एक मात्र ‘सपना’ बनेको छ। सेतो हिउँमाथि फालिएका फोहोर काँधमै बोकेर उनी तलतिर झर्छन्। उनको घरमै छ– १५ बोरा फोहोर। भन्छन्, ‘फोहोर ‘डिस्पोज’ पनि त गर्न मिल्दैन नि !’ डिस्पोज गर्न नमिल्ने हिमालका फोहोर उनले आफ्नो घरमा ‘जतन’साथ राखेका छन्। हिमाल सफा गरेर सहर फोहोर पार्नुहुन्न भन्नेमा पनि सचेत छन्। त्यसैले डिस्पोज गर्न नमिल्ने फोहोर उनको घरमै छ। डिस्पोज गर्न मिल्ने फोहोरचाहिँ उनी हिमालतिरै व्यवस्थापन गर्छन्।
पिके अर्थात् पिके शेर्पा। मानवीय गतिविधिले हिमाल फोहोर भइरहन्छ। त्यही हिमाललाई डेढ दशकदेखि सफा गरिरहेका छन्– पिके शेर्पा।
पिकेको अभियान र स्वयम् पिके मिडियातिर उति ‘चर्चा’ मा छैनन्। तर, पिकेमाथि प्राइभेट स्कुलमा कक्षा ७ को किताब ‘मिठो नेपाली शृंखला’मा पढाइ हुन्छ। पिके एक्लै, चुपचाप आफ्नै सपनाको बाटो ओहोरदोहोर गरिरहन्छन्।
सहरमा पिके भेटिनु आश्चर्य हुन्छ कुनै बेला। उनी मुडी छन्। रुकस्याक बोकेर हिमालतिर यायावर भई डुल्नु उनको विशेष रुचि हो। जस्तो २०१७ मा मनास्लु हिमाल पुगे र त्यताको फोहोर बोकी उनी सहर पसे।
उनलाई हिमालको माया लाग्छ। हिमाल ‘भगवान्’ हो शेर्पाहरूको। हिमाल नै हो उनीहरूको जीवनदाता पनि। त्यसैले हिमाल फोहोर भएपछि उनलाई साह्रै चित्त दुख्छ।
उनी बेलाबेला फोहोरकै प्रतिकात्मक ‘गिफ्ट’ बनाएर राज्यलाई दिन्छन्। हिमालको फोहोर ‘गिफ्ट’ दिएर हिमाल सफाइमा चनाखो बन्न राज्यलाई उनले दिएको दबाब हो यो।
उनकै नेतृत्वमा सगरमाथा, कञ्चजंघाजस्ता हिमाल र अन्य धेरै पिकमा सफाइ अभियान नै चलेको छ। यसका लागि उनी विभिन्न संघसंस्थाबाट पनि सहयोग लिन्छन्। साथीभाइ जुटाउँछन् र हिमाल सफा गर्न शिखरतिर उक्लिन्छन्।
‘हाम्रा हिमालमा मान्छे पठाएर पैसा कमाउने मात्र होइन, त्यसको सफाइमा पनि विशेष ध्यान दिनुपर्छ’ उनी भन्छन्, ‘नभए सेतो हिमालको सुन्दरता गुम्न समय लाग्दैन।’
पहिलोपटक २०१० मा हिमाल सफा गर्न हिँडेका थिए, पिके। त्यो पहिलो संस्थागत पहल थियो। त्यसो त त्यसअघि पनि हिमालतिर पुग्दा उनी फोहोर बोकेर पहाडतिर झर्थे। त्यसयता उनी दर्जनौँपटक दर्जनौँ हिमाल पुगेका छन् र फोहोर हुँदै गरेका सेता हिमालबाट बियरका सिसी, चाउचाउका खोल, कपडालगायत प्राविधिक सामग्री बटुलेका छन्।