ब्राजिल, ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग मङ्गलबार भएको झडपमा परी कम्तिमा २० जनाको मृत्यु भएको ब्राजिलका अधिकारीले जनाएका छन् ।
स्थानीय समय अनुसार बेलेमस्थित दिउसो १ बजे शान्ता इजावेल कारागार भवनमा सशस्त्र समूहले कारागारमा हमला गरी केही कैदीलाई भगाउन खोज्दा उक्त घटना भएको सार्वजनिक सुरक्षा अधिकारीले बताए ।
मृतकमध्ये १९ जना कैदी रहेका र बाँकी उनीहरूका आफन्त रहेका बताइएको छ । घटनामा कैदीको रेखदेखमा खटिएका चार सुरक्षाकर्मी घाइते भएका छन् ।
कारागारका प्रमुख अधिकारीका अनुसार छ जना सुरक्षाकर्मीलाई अपहरण गरेपछि कैदीको भगौडा समूहले जेलभित्र दङ्गा मच्चाएका र उनीहरूलाई नियन्त्रण गर्ने क्रममा कारागारको गेटमा विष्पोटक पदार्थले आक्रमण गरेका थिए । तत्काल सुरक्षा गार्डले गरेको प्रतिक्रियाका कारण कैदी भाग्न भने नसकेका बताइएको छ । Photo: BBC