अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 10:12

महाशिवरात्री पर्वको महत्त्व र विशेषता

ज्योतिष शास्त्री राजेन्द्र खनाल २०७४ माघ २७ गते २०:३० मा प्रकाशित

महाशिवरात्री पत्येक वर्ष हिन्दुहरूले मनाउने रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान् पर्वको रूपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान् शिवको रात्रिको रूपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन शिवको ज्योतिर्लिंग पनि उत्पत्ति भएको दिन मानिन्छ ।

शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । यसै दिन भगवान् शिवको उत्पत्ति र शिव पार्वतीको विवाह भएको पाइन्छ र यस दिनलाई भगवान् शिवद्वारा ताण्डव नृत्य गरिएको दिनको रूपमा पनि लिइने गरिन्छ । पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान् शिवले आफ्नो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्त्वसँग जोडिएको छ । विष निलेर घाँटीमा राखेको हुनाले भगवान् शिवलाई निलकण्ठ पनि भनिन्छ ।

यो संसार तीन तत्त्व(शक्ति)ले चलायमान छ । ती हुन् → ब्रह्मशक्ति, विष्णुशक्ति र शिवशक्ति संसारमा जति पनि प्राणी, जीव, कीटपतङ्ग आदि जन्मन्छन् ती सबै सृजन शक्तिका परिणाम हुन् । संसारमा जन्मिएर हुर्कने, बढ्ने र पालन (पोषित) हुने काम हामी पालन शक्तिका माध्यमले गर्दछौँ । त्यस्तै समय पुगेपछि समाप्त भएर जाने काम संहार शक्तिको प्रभाव हो । ब्रह्मशक्तिका देवता ब्रह्मा हुन् । त्यस्तै पालनशक्तिका देवता भगवान् विष्णु हुन् भने संहार वा विनाश शक्तिका देवता शिव हुन् ।

शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । अब प्रश्न उठ्न सक्छ, के विनाश वा संहार गर्ने पनि भगवान् हुन सक्छ ? कसैलाई वा कुनै वस्तुलाई नाश गरेर पनि कल्याण हुन्छ र ? संसार परमात्माको अस्तित्वले व्याप्त छ । भगवान् सर्वत्र व्याप्त हुनुहुन्छ । दिन रात, असल, खराब, कीट, मनुष्य, पशु, वनस्पति सबै भगवद्शक्तिकै परिणाम हुन् । त्यसैले, परमात्मा जीवनमा हुनुहुन्छ भने मृत्युमा पनि हुनुहुन्छ, सिर्जनामा हुनुहुन्छ र विनाशमा पनि हुनुहुन्छ । संसारमा मानिसको यदि जन्म मात्रै हुन्थ्यो र कसैको मृत्यु हुँदैनथ्यो भने के हुन्थ्यो होला ? बोटबाट समय पुगेका र पहेँला भएका पातहरू नझर्ने हो भने नयाँ पालुवाले कहिले र कहाँ स्थान पाउन सक्छन् ? नयाँको आगमनका लागि पनि पुराना र समय पुगेकाको विनाश वा समाप्ति अनिवार्य आवश्विनाश पनि एउटा विशुद्ध शक्ति हो । कुनै पनि कुरा समाप्त गर्न शक्ति चाहिन्छ, साहस र हिम्मत चाहिन्छ । संसारका सबै कामहरू विनाशक्ति सम्पन्न हुन सक्दैनन् । यदि सबै क्रियाका लागि शक्तिको आवश्यकता हुन्छ भने संहारका लागि पनि शक्ति चाहिन्छ । त्यसैले, संहारशक्तिका रूपमा भगवान् शिव पूज्य र बन्दनीय हुनुभएको हो ।

भगवानका अगाडि सबै दोष, पीडा, भय, असुरक्षा, तनाव र विसङ्गतिहरू पनि कमजोर हुन्छन् । ती सम्पूर्ण नराम्रा शक्तिको प्रभावबाट मुक्त रहन सक्ने क्षमता भएर नै भगवान् शिव कल्याणका देवता मान्न सकिएको हो । ‘शरीरमा खरानी घसेर बस्नु अर्थात् शिवजस्तो हुनु भनेको सान्सारिक सुखबाट टाढा बस्नु भन्ने सन्देशलाई बुझ्न सकिन्छ । त्यस्तै भगवान् शिवसँग सम्बन्धित पौराणिक कथाहरूमा लिङ्ग पुराणका अनुसार पार्वतीले शिवजीसँग तपाइको लागि सबैभन्दा उत्तम व्रत बताउनु होस् भनी सोध्दा समस्त दान, यज्ञ, तपस्या, व्रत आदिले प्राप्त नहुने पुण्य केवल शिवरात्रीको व्रतले प्राप्त हुन्छ भनी शिवजीले भन्नुभएको सोही कथा जम्बुद्वीपको इच्क्ष्वाकु वंशका राजा चित्रभानुको कथासँग उल्लेख हुन आउँछ । उनी यसै दिन उपवास बसी भगवान् शिवको आराधना गर्दै थिए । त्यही अवसरमा अष्टावक्र नाम गरेका ऋषि आई उपवास बस्नुको अर्थ सोधे । राजाले उनलाई आफ्नो पूर्व जन्मको बारेमा बताए र त्यसअनुसार उनी पूर्वजन्ममा सीमान्त देशमा एक सिकारी(ब्याधा) थिए । उनी चराचुरुङ्गी तथा जनावरहरूको सिकार गर्दथे ।

एक दिन उनको साहुसँग भेट भयो र ऋण नतिरेकोले साहुले उनलाई शिवको मन्दिरमा लगी दिनभर भोकै राखेर साँझपख छाडिदिए । त्यसपछि उनी सिकारको लागि जङ्गलमा गए र जलको नजिकै बेलको झाडीमा लुकेर बसे, जब हरिण पानी खान आउनेछ अनि मार्नेछु भन्ने तवरले । जुन बेला एक हरिणलाई देखे र मार्न तयार भए तर झाडीले छेकेको हुनाले पात टिपेर मिल्काए जहाँ शिवलिंग थियो तर उनलाई थाहा भएन । जब हरिणीलाई हान्न खोजे हरिणीले पनि आफ्नो पूर्वजन्मको कथा सबै बताई र आफू स्वर्गकी अप्सरा हुँदा हिरण्याक्षसँग प्रेम बसेकाले पछि शंकरजीले थाहा पाई आफू र आफ्नो श्रीमान्लाई हरिण र हरिणी हुनु परोस् भनी श्राप परी आफ्नो सो अवस्था भएको बताई । आफू घर पुगेर बालबच्चा भेटी फर्कने बाचा गरी, सिकारीले पनि हरिणीको परिवार कष्टमा परेको देखि नमारिकन आउने सर्तमा छोडिदिए । यो क्रम रातभर तीन पटकसम्म दोहोरियो । उक्त दिन उनी दिनभर भोकै थिए राति पनि उनी भोक प्यासले गर्दा रातभरि निदाउन सकेनन् तथा आफ्ना पत्नी तथा बालबच्चाहरू भोकै भएकाले उनले केही ल्याउँला भनेर पर्खेर बसेका होलान् भन्दै सौंच्दै रहे । उक्त दिन शिवरात्रीको दिन थियो, जो उनलाई थाहा थिएन । बेलको पात टिप्दै फाल्दै गरेकाले बेलपत्रले शिवलिङ्ग ढाकियो तर उनले चाल पाएनन् ।

भोलिपल्ट उनी रित्तै घरमा गए, हरिण हरिणीहरु सबै आए तर उनले कसैलाई पनि मारेनन् किनकि उनमा नजानीकनै गरेको भए पनि व्रतको प्रभाव परिसकेको थियो । उनको मृत्युपश्चात् भगवान् शिवका दूतहरूले उनलाई कैलाशमा लिएर गए । उनले पहिलोपल्ट थाहा पाए कि उनले अन्जानमा भगवानको निराहार व्रत र रातभरको जाग्राम गरेको रहेछु भनेर । त्यहाँ यमराजका दूतहरू पनि आएका थिए । आत्मा लिएर जाने बारेमा दुवै पक्ष बिच ठुलो लडाइ भयो तर ती दूतहरूले उनलाई सो रुखको फेदमा शिव लिङ्ग भएको र उनले खसालेको सबेै बोलपत्र शिवलिंग माथि परेको सुनाए । र अन्तमा शिवदूतहरुले सो आत्मा लिएर गए ।

यमदूतहरूले सो घटनाबारे यमराजलाई जानकारी गराए । यमराज तुरुन्त कैलाश पर्वत पुगे । नन्दीले उनलाई महाशिवरात्रीको महत्त्व तथा सो मृतआत्माप्रति भगवान् शिवको प्रेमबारे सुनाए । यमराजले आफ्नो गल्ती स्वीकार गरे र अब आइन्दा भगवान् शिवको कुनै पनि भक्तमाथि भगवानको आज्ञा विना हस्तक्षेप नगर्ने भनी फर्के । यसप्रकार सो सिकारी शिवको गणको रूपमा रहन सके केवल उपवास सहित अन्जानमा शिव लिङ्गमा बेल पत्र चढाएको कारण किनकि त्यसदिन महाशिवरात्री थियो । यसरी महाशिवरात्रीको महत्त्व तथा विशेषताबारे भगवान् शिवको उक्त भनाइमा पार्बती अत्यन्त प्रभावित हुनु भयो र उहाँले यसबारे सबैलाई बताउनु भयो । यसप्रकार उनले अन्जानमा भगवान् शिवको लिङ्गमा पूजा गरेको हुनाले उनी शिवका भक्त भएर रहे ।

शिवरात्रीको अर्थ हुन्छ शिवको रात्रि । यस दिनको मुख्य विशेषता भनेको कठोर उपवास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवान् शिवका सच्चा भक्त त्यो हो जसले शिवरात्रीको रातमा गहिरो साधना तथा उपवास बसी जागरण गर्दछ । भगवानलाई पूजा गर्न चढाइने फुलहरू, बोलपत्र तथा अन्य फलफुलहरू हुन्, जुन सबै शिव लिङ्गमा चढाइन्छ । त्यस्तै प्रकारले दूध, दही, घ्यू नरिवलको पानी, घ्यू तथा महले भगवान् शिवलाई स्नान गराइन्छ ।

महाशिवरात्रीको दिन परम्परा अनुसार सबै भक्तजनहरू सबेरै नुहाइ धुवाइ गरी भगवान् शिवको पूजा आराधना गर्दछन् । सकेसम्म विभिन्न पवित्र नदीहरूमा गएर पूजा गर्दछन् । पवित्र नदीको जल घडामा भरेर ल्याई भगवान् शिवको लिङ्गमा चढाउँछन् तथा भगवान् विष्णु र सूर्यको पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्त्व तथा विशेषता अत्यन्त ठुलो छ । यस दिन भक्तजनहरूले कसैले दूध पनि चढाउँछन् । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ ।

१) भगवान् शिवको लिङ्गमा शुद्ध जल, दूध, मह, फलफुल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ ।
२) भगवान् शिवपार्वतीलाई सिन्दूर टीका चढाउनु भनेको सद्गुण वृद्धि गर्नु हो ।
३) विभिन्न प्रकारका फलफुल चढाउनु भनेको दीर्घ आयु तथा आफ्ना इच्छा पूरा गर्नु हो ।
४) धूप बाल्नु भनेको सम्पत्ति वृद्धि हुनु हो ।
५) दीप बाल्नाले ज्ञानको वृद्धि हुन्छ ।
६) बोलपत्र चढाउनाले सांसारिक सुखभोग प्राप्त गर्नु हुन्छ ।

शिवरात्रीको पूजा फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान् महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान् शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफूले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । नेपालमा यसलाई जुन तरिकाले मनाए पनि विदेशमा यसलाई महत्त्वपूर्ण व्रत तथा पर्वका रूपमा लिन सकिन्छ ।

नोटः यस वर्षको महाशिवरात्रीको दिन फेब्रुवरी १३ तारिख, फाल्गुन १ गते मङ्गलवार परेको छ ब्रतप्रतिष्ठा गर्नेहरुका लागि भने १४ तारिख बुधवार राम्रो हुनेछ । जो जहाँ रहे पनि हामीले आफ्नो संस्कार तथा चाडपर्वलाई आफू तथा आफ्नो परिवार, साथीभाइलाई चिनाऔँ । संस्कार नै तपाईँ हाम्रो चिनारी हो, राम्रो संस्कारले नै हाम्रा बालबच्चाहरू पछि सफल हुन्छन् । संस्कारको अनुसरण आफूबाटै सुरु गरौँ ।

अन्त्यमा महाशिवरात्रीको उपलक्षमा सबै भक्तजनहरूलाई भगवान् शिवको आशीर्वाद प्राप्त होस् भन्ने शुभकामना । इति ।

(लेखक ज्योतिषी खनाल विगत ११ वर्षदेखि वासिङ्टन डी सी, मेरिल्याण्ड, भर्जिनियाक्षेत्रमा ज्योतिष तथा कर्मकाण्ड सम्बन्धी पुरोहित काम गर्दै आईरहनु भएको छ ।)