२२ जना भारतीय चालक दलका सदस्य सहित अफ्रिकामा अपहरणमा परेको पानीजहाज मुक्त
बिआरटीनेपाल२०७४ माघ २३ गते ५:३६ मा प्रकाशित
पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशङ्का गरिएको थियो ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिन्मा सम्पर्क गरिरहेको जानकारी दिनुभएको थियो । आज सो विमान अपहरणबाट मुक्त भएको जानकारी भारतीय अधिकारीहरुले दिएका समाचरमा जनाइएको छ ।
बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहेको पछि पत्ता लागेको थियो ।
उनीहरुले मङ्गलबार जहाज मुक्त गरिदिएको बताएपछि सो जहाज र यसका सबै सदस्यहरु जहाजको क्याप्टेनको नियन्त्रणमा आइसकेका समाचारमा उल्लेख गरिएको छ ।
अपहरणमुक्त जहाज र यसका सबै सदस्यहरु सकुशल रहेका अधिकारीहरुले जनाएका छन् ।
जहाजलाई अपहरणमुक्त गर्ने काममा लाग्ने सबैलाई भारत सरकारले धन्यवाद ज्ञापन परेको छ । (रासस)